बिर्तामोड ,असार १३ । ठेकेदारले समयमै काम सम्पन्न नगर्दा बिर्तामोड—भद्रपुर सडकको सैनिकमोड सडकखण्ड डुबानमा परेको छ ।

केही दिनदेखि परिरहेको अबिरल बर्षाका कारण जमेको पानीको निकास नहुँदा मेची आँखा अस्पताल छेउको निर्माणाधिन सडकमाथिबाट पानी बग्न थालेको हो । उत्तरपट्टिको पानी भरिएर सडकमाथिबाट बग्न थालेको र आसपासका घरहरु डुबानमा परेको सैनिकमोडका इन्द्रबाबु बुढाथोकीले बताए । मेची आँखा अस्पताल आसपासको पानीको निकास अबरुद्ध गरिदा समस्या भएको हो । यसअघि भएका कल्भर्ट मासेर ठेकेदारले बेलैमा काम सम्पन्न नगर्दा समस्या झेल्नु परेको उनले गुनासो गरे । ‘ बिराटज्योति स्कूल जाने सडकदेखि सैनिकमोडसम्म चारवटा कल्भर्ट थिए ’ बुढाथोकीले भने,‘ त्यो सबै मासेर ठेकेदारले ढल पनि अलपत्र पारेर छाडेको छ । ’

आशिष—प्रेरा जेभीले लिएको ठेक्का बेलैमा सम्पन्न गर्न नसकी त्यसको पेटी केदार गिरीलाई दिएको हो । पेटी ठेकेदार गिरीले पनि समयमा काम गर्न सकेका छैनन् । बिर्तामोड—भद्रपुर सडक निर्माण सम्पन्न नहुँदा यात्रुहरुलाई आवतजावतमा निकै कठिनाइ भोग्नु परिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्