झापा, असार १३ । एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा स्थापना गर्न लागिएको पिसिआर ल्याब साउन १ गतेबाट सञ्चालनमा आउने भएको छ ।

आज बिर्तामोडमा बसेको अभियानको प्राविधिकसहितको बैठकले ल्याब सञ्चालनको तयारी सुरु गर्ने निर्णय गरेको हो । त्यसका लागि पिसिआर मेसिन तथा ल्याबका लागि आवश्यक अन्य उपकरणका खरिद प्रक्रिया अघि बढाइएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।ल्याब स्थापना हुने समर्पण भवनको प्राविधिक टोलीले निरीक्षण गरी संरचना निर्माणको कामसमेत सुरु गरिएको छ । अन्नपूर्ण न्युरो अस्पताल तथा रिसर्च सेन्टरका अनुसन्धान अधिकृत अनिलकुमार साह र विराज लोहनीले ल्याबका लागि आवश्यक पर्ने मापदण्ड र प्राविधिक पक्षबारे रायसुझाव दिएका थिए ।
यसअघि स्थापना हुन लागेको ल्याबका विषयमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले खरिद प्रक्रिया र भन्सार छुटका लागि प्रदेश सरकारले जिम्मेवारी लिने बाचा गरेका थिए । अभियानमार्फत झापामा स्थापना हुन लागेको पिसिआर ल्याबका लागि झापाका राजनीतिक दल, सहकारी अभियन्ता र साझेदार संस्थाबीच मन्त्री घिमिरेले समर्पण भवनमा ल्याब राख्न अनुमिति दिए ।मन्त्री घिमिरेले अभियानले हालसम्म गरेको कामको प्रशंसा गर्दै चाँडोभन्दा चाँडो पिसिआर मेसिन खरिद गर्न अभियान टोलीलाई आग्रह गरेका थिए । मन्त्री घिमिरेले झापाको केन्द्रविन्दु भएकाले कोटिहोम क्षेत्र उपयुक्त भएको बताएका थिए । उनले छलफलपछि भवनको निरीक्षण गरेका थिए । उनले ल्याब सञ्चालनका लागि पनि प्रदेश सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिकिर गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्