भद्रपुर, असार १३ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ं झापाले शिक्षक कर्मचारीका समस्या हल गर्न विद्यालय सञ्चालकले बेवास्ता गरेको ठहर गर्दै आन्दोलनमा जाने निर्णय गरेको छ ।

पटकपटक प्याब्सन, एन प्याब्सनसित भएका छलफल तथा वार्ताको पालना गर्न विद्यालय सञ्चालकले अटेर गरेपछि शिक्षक कर्मचारीको जीवन दयनीय बन्दै गएको ठहरसहित आन्दोलनमा जाने निर्णय गरेको हो ।
इस्टु झापाको पूर्ण बैठकले आगामी हप्ताबाट सडक संघर्षमा उत्रने गरी आन्दोलनको कार्यक्रम तय गरेको छ । यस हप्ताभरि २०७६ साल चैत्र महिनासम्मको तलव नदिने विद्यालयको विवरण संकलन गर्ने, शिक्षक कर्मचारी निस्काशन गर्ने विद्यालयको पहिचान गर्ने, झापाका सवै स्थानीय तहमा शिक्षक कर्मचारीका समस्या हल गर्न स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाउनेलगायत ७ वटा बुँदामा निर्णय गर्दै युनियनले श्रम अदालतसम्म गएर श्रम शोषण गर्ने विद्यालयका सञ्चालकहरूलाई कानुनी दायरामा ल्याउने निर्णय समेत गरेको छ ।
जिल्ला अध्यक्ष होमराज खतिवडाको अध्यक्षता तथा केन्द्रीय सदस्य एनपी लामिछाने, प्रदेश १ का अध्यक्ष यादवप्रसाद अधिकारीको विशेष आतिथ्यमा सम्पन्न बैठकमा झापा जिल्लाका पदाधिकारी, सदस्यहरू, पालिका अध्यक्षहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्