झापा, असार १४ । सरकारले प्रदेश १ को झापा र धनकुटामा गरी थप दुई स्थानमा पिसिआर ल्याब सञ्चालनमा ल्याउने भएको छ ।

सरकारले झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल र जिल्ला अस्पताल धनकुटामा ल्याब सञ्चालन गर्ने निर्णय गरेको हो । असार १० गते स्वास्थ्य तथा जनसंख्या मन्त्रीको उपस्थिति र असार १२ गतेको सचिवस्तरीय बैठकले प्रदेश १ को दुई स्थानमा ल्याब सञ्चालन गर्ने निर्णय गरेको हो । प्रदेश १ को राजधानी बिराटनगरको कोशी अञ्चल अस्पताल, प्रादेशिक प्रयोगशाला बिराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याबसहितको कोभिड अस्पताल सञ्चालित छन् । मोरङको सुन्दर हरैँचास्थित गोठगाउँमा आइसोलेसन वार्ड सञ्चालनमा छ । झापामा जनस्तरमा कनकाई नगरपालिका ३ को कोटिहोमस्थित समर्पण भवनमा पिसिआर ल्याब सञ्चालनको अन्तिम तयारी भएको छ । प्रदेश १ सरकारको अनुमतिमा उक्त ल्याब साउन १ गतेदेखि सञ्चालनमा आउने जनाइएको छ । प्रदेश र संघीय सरकार दुबैको स्वीकृति अनुरुप काम भए झापाका दुई स्थानमा पिसिआर ल्याब सञ्चालन हुनेछ । मेची प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि प्रदेश १ सरकारले २३ करोड रुपैयाँ पनि छुट्याइएको छ । यसअघि नै मेची प्रादेशिक अस्पतालको निर्माणाधीन भवनमा कोरोना अस्पताल बनाउने चर्चा चलेको थियो । त्यहाँ कोरोना अस्पताल बनाउँदा मेची प्रादेशिक अस्पतालको नियमित सेवा प्रभावित हुने आवाज उठेपछि त्यो विषय त्यत्तिकै सेलाएको थियो । कोभिड अस्पताल बनाउने चर्चा चलिरहेकै बेला मेची प्रादेशिक अस्पतालको आइसोलेसनमा बसेका दुई व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि सो अस्पतालको आइसीयू वार्ड सिल गरिएको थियो । त्यसपछि पिसिआर ल्याब सञ्चालन गर्ने तयारी अन्योलमा परेको थियो । संघीय सरकारले गरेको निर्णयसँगै स्थानीयमा ल्याब सञ्चालन हुने आश जागेको छ । प्रदेश १ कै कोरोना संक्रमणको हटस्पर्ट बनेको झापामा ल्याब सञ्चालनको माग विगतदेखि नै उठेको हो । झापामा कोरोना संक्रमितको संख्या २२४ पुगकोे छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्