झापा, असार १५ । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना र सञ्चालन हुने निश्चित भएपछि दाताहरुले सहयोग गर्ने क्रम बढेको छ । सोमबार मात्र दाताहरुले पाँच लाख ३६ हजार २८२ रुपैयाँ ल्याब स्थापनाका लागि प्रदान गरेका छन् । एक कार्यक्रमका बीच ‘एकका लागि एक अभियान’ लाई उनीहरुले नगद हस्तान्तरण गरेका थिए ।

बिर्तामोड–२ चैतुबारीका धार्मिक तथा ज्येष्ठ नागरिक ९० वर्षीय विष्णुप्रसाद ओलीले ५१ हजार १११ रुपैयाँ प्रदान गरे । उनले सञ्चारमाध्यममा समाचार सुनेर अभियानलाई सहयोग गरेको बताए । दातासमेत रहेका समाजसेवी लोकबन्धु कन्दङवाले रकम प्रदान गरेको समाचार सुनेर आफूले पनि इच्छा व्यक्त गरेको ओलीले सुनाए ।
अभियानका सहसंयोजक विनोद बस्नेत, सदस्य मदनगोपाल सुब्बा, केदार गिरी र कन्दङवाले ओलीको घरमै पुगेर रकम ग्रहण गरेका थिए । रकम हस्तान्तरणपछि ओलीले सबै ज्येष्ठ नागरिक पनि अभियानमा जोडिनुपर्ने धारणा राखेका थिए।
यसैबीच, सोमबारै अतिथि सदनमा भएको कार्यक्रममा ६ जना दाताले रकम हस्तान्तरण गरे । यसअघि नै घोषणा गरेको अमेरिकास्थित मिसन रिबिल्ड नेपालले दुई लाख, बिर्तामोडका व्यवसायी प्रदिप मित्तलले एक लाख एक हजार, मेचीनगरका समाजसेवी गोमादेवी मैनाली र मोहनकुमार भेटवाल दम्पत्तीले ७१ हजार १७१, बिर्तामोडका समाजसेवी सुरेन्द्र ओडारी र पुनम ओडरी दम्पत्तीले ५१ हजार, वन पैदावर उद्योग व्यवसायी संघ झापाले ५१ हजार र डिएन्डबी स्टोर्सका सञ्चालक दुर्गा थपलियाले ११ हजार रुपैयाँ हस्तान्तरण गरे ।
नेपाल र अमेरिका दुवै देशमा गैरनाफामूलक संस्थाको रुपमा दर्ता भई सामाजिक कार्य गर्दै आएको मिसन रिबिल्ड नेपाल २०७२ सालको विनाशकारी महाभूकम्पपछि नेपाल र नेपालीलाई सहयोग गर्ने उद्देश्यले स्थापित अमेरिका र नेपालमा रहेका चिकित्सक, इन्जिनियर र अन्य पेसाकर्मीको साझा संस्था हो ।
मित्तल बिर्तामोडका सफल व्यवसायी हुन् भने भेटवाल दम्पत्तीले आफ्ना स्वर्गीय मातापिता खड्गप्रसाद तथा गंगादेवी न्यौपाने मैनालीको पुण्य स्मृतिमा रकम प्रदान गरेका हुन्।
त्यस्तै, ओडारी दम्पत्ती तथा परिवारका सदस्य युवराज तथा रोजी ओडारी र गणेश तथा गीतु ओडारीले स्वर्गीय माता भक्तिमाया ओडारीको पुण्य स्मृतिमा रकम प्रदान गरेका हुन् । लायन्स क्लब अफ बिर्तामोड सिटीका तृतीय उपाध्यक्ष थपलिया रेडिमेड कपडाका थोक व्यवसायी हुन्।
रकम ग्रहणपछि अभियानको तर्फबाट संयोजक महेन्द्रकुमार गिरीले सबै दाताहरुलाई विशेष धन्यवाद दिए । उनले पिसिआर ल्याब स्थापनाका लागि गरेको सहयोग रकमले जिल्लाबासीलाई फाइदा पुग्ने र भविष्यमा योगदानको चर्चा हुने उल्लेख गरे ।
पत्रकार एकराज गिरीले सहजीकरण गरेको कार्यक्रममा अभियानका सदस्य तथा दाता रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुरका अध्यक्ष गंगाप्रसाद ओलीले अभियानका बारे प्रकाश पारेका थिए । कार्यक्रममा स्वागत अभियानका सदस्य बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले गरेका थिए।
अभियानले ल्याब सञ्चालन गर्न आर्थिक संकलन तीव्र बनाएको छ । अभियानले ल्याबका लागि ८५ लाख रुपैयाँ संकलन गरिसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्