बिर्तामोड , असार १६ । कनकाई हस्पिटल बिर्तामोडको १४औं वार्षिकोत्सव आज सम्पन्न भएको छ ।

कनकाई हस्पिटलका अध्यक्ष तथा मेडिकल डाइरेक्टर डा. प्रेमबहादुर शाहीले कार्यक्रमको अध्यक्षता गर्दै आफ्नो हस्पिटलले प्रदेश १ मै पहिलोपटक माइक्रो एण्डोस्कोपिक स्पाइन सर्जरीसम्बन्धी सेवा शुरु गर्न लागेको बताए । उनले हस्पिटलले स्पाइनल सर्जरी सेवा शुरु गरेको र प्रदेश १ का सेवाग्राहीलाई लक्षित गरी बिर्तामोड–५ बुट्टाबारीमा १०० शैय्याको ट्रमा सेन्टर निर्माण गरिने जानकारी दिए । हस्पिटलका निर्देशक महेन्द्रबहादुर राईले स्वागत गरेको कार्यक्रममा अरु निर्देशकहरु खेमराज बानियाँ, युवराज डाँगीलगायतले कोरोना भाइरसको संक्रमणको यस्तो जोखिमपूर्ण अवस्थामा पनि स्वास्थ्य सेवा प्रदान गरिरहेको भन्दै डाक्टर तथा नर्सहरुको प्रशंसा गरेका थिए ।त्यस्तै हस्पिटलका वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. राजेशकुमार महतो, एनेस्थोसियोलोजिष्ट डा. प्रमोद राई, वरिष्ठ फिजिसियन डा.चन्दन विश्वासलगायतले लकडाउनमा पनि सुरक्षाका सावधानी अपनाउँदै सामाजिक दुरी कायम गरेर स्वास्थ्य सेवा प्रदान गरिरहेको बताएका थिए ।
सोही कार्यक्रममा भारतको गंगाराम हस्पिटलबाट माइक्रोस्कोपी स्पाइन सर्जरी र एन्डोस्कोपिक न्युरो स्पाइन सर्जरीसम्बन्धी विशेषज्ञता हासिल गरेर पहिलोपटक कनकाई हस्पिटलमा आएको भन्दै कनकाई हस्पिटलका अध्यक्ष तथा मेडिकल डाइरेक्टर, वरिष्ठ स्पाइन सर्जन डा. प्रेमबहादुर शाहीलाई स्वागत सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन कनकाई हस्पिटलका व्यवस्थापक अभय भूजेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्