झापा , असार १६ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदको गरिमा नबुझेको आरोप लगाएका छन्।

‘हरेक अनुकूलतालाई उहाँ(प्रधानमन्त्री)ले प्रतिकूलतामा बदल्दै लैजानुभो’ पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘हामीले साथ दिँदादिँदै पनि उहाँले आफ्नो पदीय मर्यादा नाघेर अघि जानुभयो।’
नक्सा पारितको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मात्रै ‘भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागेको’ अभिव्यक्ति दिएका थिए।
‘संसदबाट नक्सा पारित भएको हो, उहाँको व्यक्तिगत सवाल होइन। त्यो सिङ्गो देशको नक्सा हो, प्रधानमन्त्रीको अटोग्राफ होइन’ प्रवक्ता शर्माले भने ‘नक्सा पारित गर्दा पूरै देश एक भएको हो। दिल्लीसँग दिलका कुरा दह्रोसँग गर्नुस्। यस्ता कूटनीतिक मूल्यविरुद्ध अभिव्यक्ति नदिनुस्।’
उनले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा छलफल भइरहेको पनि बताए।
पार्टीको केन्द्रीय समिति बैठक जारी रहेको र महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल भइरहेको उनले बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्