झापा, असार १७ । तीनदिन अघि निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन दिने व्यक्तिको अझै स्पष्ट पहिचान खुल्न सकेको छैन ।

नेकपा स्थायी कमिटी बैठक

नेकपा झापाको नेतृत्वले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएकी भनिएकी व्यक्तिको जिल्ला पार्टीमा कुनै रेकर्ड नरहेको स्पष्ट पारेको छ । अधिकांश नेकपा नेताले ती व्यक्तिको परिचय खुलाउन नचाहनुले दल दर्ताको कुरा झन् रहस्यमय बनेको छ । जिल्लाका बहालवाला, पूर्व सांसद तथा जिल्ला नेताले सन्ध्या तिवारी को हुन् ?आफूहरूलाई थाहा नभएको बताए । नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले सन्ध्या तिवारी नेकपा पार्टी कार्यकर्ता नभएको बताए । “ जिल्लामा तीस हजार बढी संगठित सदस्य छ्न्, सबै हेक्का हुँदैन“ उनले भने,“ मेरो जानकारीमा रहेसम्म र याद भएसम्म जिल्ला पार्टीमा उहाँको रेकर्ड छैन ।” अध्यक्ष पाठकले सबै स्थानीय कमिटीमा सम्पर्क गर्दा समेत रेकर्ड भएको जानकारी नआएको जनाए । उनी तिवारी हुन् कि अधिकारी त्यो पनि स्पष्ट हुन नसक्दा पहिचान गर्न अप्ठ्यारो परेको नेकपाका जिल्ला नेताहरूको भनाइ छ । निर्वाचन आयोगमा झापाकी सन्ध्या तिवारीको नाममा पार्टी दर्ताको निवेदन परेको सूचना बाहिर आएपछि उनको बारेमा चर्चा सुरु भएको हो । नेकपा झापाका कार्यालय सचिव शिव ढुङ्गेलले चर्चा भएकी व्यक्तिको पार्टीको संगठित सदस्य नभएको बताए । “ निर्वाचन आयोगमा निवेदन दिएकी भनिएका व्यक्तिको जिल्लामा रेकर्ड नै छैन” उनले भने,“ कुनै बेला झापाबाट नागरिकता बनाएको व्यक्ति काठमाडौँ वा बाहिर गएर बसेको हुनसक्छ, झापा पार्टीको उहाँ सदस्य होइन ।”
तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको हो ।
पार्टीका संविधानसभा सदस्य दिपक कार्की,प्रदेशसभा सदस्य बसन्त बानियाँ, नेता राजु आचार्य हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरी लगायत नेताले उनी को हुन् आफूहरू थाहा नभएको बताए । हिजो ( मंगलबार ) दिनभर दल दर्ताको निवेदन दिने व्यक्ति झापाको बिर्तामोड, लखनपुर, हल्दीबारी कि भएको चर्चा चलेको थियो । तर, नेकपा नेताहरूले पार्टीमा रेकर्ड नभएको र निर्वाचन आयोगको रेकर्डबाट मात्र थाहा हुने बताएपछि सन्ध्याको पहिचान रहस्यमय बनेको हो । झापाकी सन्ध्याले नेकपा एमाले दर्ताको निवेदन लिएर निर्वाचन आयोगमा गएको आयोगले पुष्टि गरेको छ । नेकपा शीर्ष नेताहरुले दल दर्ताको विषयलाई गम्भीररुपमा लिएका छन् ।
नेकपाको जारी स्थायी समिति बैठकमा नेकपा एमाले पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको विषयमा मतविमत भएको छ ।
आयोगको रेकर्डमा दल दर्ता गर्ने व्यक्ति झापाकी भएको जनाइए पनि उनको ठेगाना थाहा नभएको जिल्ला नेताले दाबी गरिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्