झापा, असार १७ । सतारुढ नेकपाको जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा मागले भारतमा निकै चर्चा पाएको छ ।

भारतका अधिकांश ठूला संचारमाध्यमको लागि त्यो विषय मुख्य हेडलाइन बनेको छ । उनीहरुले त्यसलाई प्रमुख प्राथमिकताका साथ प्रकाशित गरेका छन् । भारतका बीबीसी हिन्दी, टाइम्स अफ इन्डिया, हिन्दुस्तान टाइम्सजस्ता ठूला संचारमाध्यमले ओलीको राजीनामा मागेको विषयलाई समाचार बनाएका हुन् ।

नयाँ नक्साका कारण नेपाल—भारत सम्बन्ध बिग्रिएपछि केही दिनदेखि भारतीय संचारमाध्यमहरुले नेपाल र नेपालको राजनीतिलाई चासोका साथ हेरिरहेका छन् । प्रधानमन्त्री ओलीले आफूलाई सरकारबाट हटाउने खेलमा भारत लागिपरेको र त्यसमा नेपालकै नेताहरूको समेत संलग्नता रहेको तीन दिनअघि अभिव्यक्ति दिएका थिए । आफ्नै नेताहरुले पार्टीभित्रको कुरा भारतीय संचारमाध्यमलाई दिने गरेको उनले आशंका गरेका छन् ।

हिजो नेकपाको स्थायी कमिटी बैठकमा शीर्ष नेताहरुले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न मात्र उठाएनन्, ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन मागसमेत गरेका थिए । नयाँ नक्सा जारी गरेपछि भारतविरोधी आरोप लागेका ओलीलाई संकट पर्दा दिल्ली रमाएको बिश्लेषण पनि गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्