बिर्तामोड , असार १९ । झापाको बिर्तामोडमा गत साता चिकित्सकमाथि भएको आक्रमणको विरोधमा पोखराका युवा चिकित्सक आन्दोलनमा उत्रिएका छन्।

असार ११ गते झापाको बिर्तामोडस्थित मेडिका हस्पिटलमा कार्यरत मेडिकल अफिसर डा. सुधाकर झामाथि भएको आक्रमणको विरोधमा पोखराका युवा डाक्टरहरुले बिहीबार जिल्ला प्रशासन कार्यलय कास्की अगाडी धर्ना दिए।
कोरोना भाइरसको महामारीका बीच आफ्नो ज्यान जोखिममा राखेर फ्रन्टलाईनमा काम गर्ने डाक्टरमाथिको हमला अमानवीय भएको भन्दै आफूहरु आन्दोलनमा उत्रिएको चिकित्सकले बताएका छन्। युवा चिकित्सक संघ गण्डकीले आयोजना गरेको शान्तिपूर्ण धर्नामा ७५ जना डाक्टरहरुको सहभागिता रहेको संघका सचिव डा. सञ्जिव बस्नेतले जानकारी दिए।
संकटका बेला साथ, सहयोग र हौसला दिनुपर्नेमा उल्टै आक्रमण हुनु दुखदः भएको भन्दै उनीहरुले सरकारसँग भरपर्दो सुरक्षाको माग समेत गरेका छन्। घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कार्वाही गर्न पनि चिकित्सकको आग्रह छ।
गएको असार ११ गते बिहीबार राति साढे ९ बजे हुल बाँधेर हस्पिटल पुगेको १०—१५ जनाको समूहले डाक्टर झामाथि आक्रमण गर्दा उनको नाकमा चोट लागेको छ। बिर्तामोड–६ का ८ वर्षे बालकको हात भाँचिएपछि उपचारका लागि राति ८ बजे हस्पिटल लगिएको थियो।
हस्पिटलका अनुसार बालकको हातको अप्रेसन गरिएको र अवस्था सामान्य छ। उनीहरूले बिरामी हेर्न एकैपटक जान खोजेपछि नजिकै रहेका डा. झाले सम्झाउन खोज्दा उनीमाथि हातपात भएको हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्