झापा । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरस रोगबाट जोगिने उपायलाई एकैसाथ अवलम्बन नगरे संक्रमण नियन्त्रणमा नआउने जनाएको छ ।

जेनेभामा आयोजित प्रेस ब्रिफिङमा डब्ल्यूएचओ प्रमुख डा. अधानोम टेड्रोसले संक्रमितको खोजी गर्ने, आइसोलेट हुने, परीक्षण गर्ने र प्रत्येक केसलाई निगरानी गरी क्वारेन्टिनमा राख्नु नै संक्रमणबाट जोगिने उपाय रहेको बताए ।
उनले परीक्षण, सामाजिक दुरी, कन्ट्याक्ट ट्रेसिङ र मास्कको प्रयोग एकैपटक गरेमात्रै संक्रमणबाट जोगिने बताउँदै छुट्टा–छुट्टै अवलम्बन गर्दा संक्रमणबाट नजोगिने स्पष्ट पार्दै भने, “महामारीबाट बाहिर निस्कने यो उपायको बारेमा भन्न हामी कहिल्यै थाक्ने छैनौ ।”
सबै राष्ट्रले यी ४ उपायलाई सँगसँगै अवलम्वन गरी अघि बढ्नुको बिकल्प नरहेको उनले बताए । तर कतिपय देशमा यी ४ कुरा सँगसँगै नभएकाले संक्रमण बढिरहेकोमा टेड्रोसले चिन्ता व्यक्त गर्दै त्यस्ता राष्ट्रहरुले लामो समयसम्म महामारीको सामना गर्नुपर्ने चेतावनी दिए ।
उनले उदाहरण दिदै भने, “गत मार्चमा कोरोना संक्रमणको केन्द्रबिन्दु स्पेन र इटाली थियो, उच्च बिन्दुमा आइपुग्दा स्पेनमा दिनहुँ १० हजार संक्रमित र इटालीमा ६ हजार ५ सयबढी केस थपिन्थे तर दुबै देशले स्थितिलाई नियन्त्रणमा राख्न सके । टेड्रोसले थपे, “नेतृत्व, समाजका प्रत्येक व्यक्तिको सक्रिय सहभागिता, बृहत्तर योजनाको कार्यान्वयन तथा धैर्यताको संयोजनले यी दुई देशमा महामारी नियन्त्रणमा आयो, डरलाग्दो अवस्थाको सामना गरेका दुबै राष्ट्रले संक्रमणलाई नियन्त्रण बाहिर जान दिएनन् ।”
टेड्रोसका अनुसार गएको हप्तादेखि दैनिक संक्रमणको संख्या बढिरहेको छ । दिनको १ लाख ६० हजार संक्रमित थपिदै गएका छन् । गत डिसेम्बरमा चीनको युहानबाट फैलिएको कोरोना संक्रमणबाट १ करोड ३ लाख मानिसलाई कोरोना पुष्टि भएको छ भने ५ लाख ६ हजार संक्रमितको मृत्यु भइसकेको छ । कुल संक्रमितको ६० प्रतिशत केस गत महिनाका मात्रै छन् ।
स्रोत – हेल्थपाटीन्युज

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्