झापा, असार १९ । परिस्थिति सहज होस् या असहज । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा केही न केही नयाँ काम गर्छन्, धेरैलाई आश्चर्यमा पार्छन् । हरेक पटक उनी गृह जिल्ला झापा आउँदा नवीन काम गर्छन्, “ सर्प्राइज” नै दिन्छन् ।

उनले अहिलेसम्म ल्याएका त्यस्ता योजनामा कुनै राजनीतिक गन्ध आउँदैन, हुँदैन । तीन दिन पार्टीका लागि र चार दिन रोटीका लागि भन्ने मान्यताका पक्षधर उनी सामाजिक कर्मबिनाको राजनीति अपुरो हुने बताउँछन् । अहिले मुलुक बन्दाबन्दीको अवस्थामा छ, यो सबैमा ज्ञात छ । शर्मा बन्दाबन्दीकै बेला अकस्मात झापा आए । यो बेला पनि उनले सहयोगको सर्प्राइज प्याकेज नै ल्याए । कोरोना संक्रमण देखिएका झापाका सबै पालिका पुग्ने र सहयोग गर्ने । स्थानीय सरकार प्रमुखलाई भेट्दा र वस्तुस्थिति बुझ्दा मात्रै केही हुँदैन भनेर स्वास्थ्य सामग्री वितरण गर्ने योजना बनाएर आए, काम सके र शर्मा काठमाडौँ फर्किए । उनी झापाका सबै पालिका पुगे र स्वास्थ्य सामग्री बाँड्ने काम आफैंले गरे। शर्मा झापाका १५ वटै पालिका पुगे । उनले पालिका प्रमुख, उपप्रमुख र जिम्मेवार व्यक्तिसँग छलफल गरे , कोरोना कहरका बारेमा जानकारी लिए । जिल्लाको उत्तरी सीमा बुद्धशान्तिबाट सुरु गरेको अभियान दमकमा पुनेर सम्पन्न भयो । झापा बसाईको अवधिमा उनी प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्र चार पटक पुगे । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको क्षेत्रमा तीन पटक । त्यहाँ जानुको उनको उद्देश्य राजनीतिक थिएन । क्वारेन्टाइनको अव्यवस्था र क्वारेन्टाइनमा बसेकाहरुको दैनिकी बुझ्नु नै । उनले झापाको कोरोना हटस्पर्ट कचनकवलको लक्ष्मी मावि बनियानी क्वारेन्टाइनमा बसेका व्यक्तिको गुनासो सुने । शर्मा त्यहाँ पुग्दा क्वारेन्टाइनमा बसेकाले बस्न असुविधा भएको, रिपोर्ट ढिलो आएको गुनासो गरेका थिए । उनले सबैलाई धैर्य रहन र वास्तविकताका बारेमा सरकारलाई जानकारी गराउने बताए । “ यो संकटको बेला हो,आक्रोस र आवेग होइन, संयम र साहस जरुरी छ” शर्माले भने,“ सरकारले मात्रै केही गर्न सक्दैन,संयमित बनेर नागरिक जिम्मेवारी पूरा गरौँ ।” शर्मा हरेक पालिका पुग्दा प्रमुख, उपप्रमुखले संकटमा साथ दिन आएको भन्दै प्रशंसा गरेका थिए । वैचारिक रुपमा फरक मत राख्नेहरुले समेत शर्मालाई हौस्याउँदै भने,“ संकटको बेला तपाईं आउनुले हामीलाई उत्प्रेरणा भएको छ ।” कचनकवलका अध्यक्ष अन्जार आलमले विश्वप्रकाश शर्मा आउनु आफ्ना लागि सर्प्राइज भएको बताए । “ यो बेला कचनकवलमा आउन जो पनि हिच्किचाउँछ, तर काठमाडौँदेखि आउनु भयो ” उनले भने,“ संकटमा उहाँले दिएको साथलाई सधैं सम्झने छु ।” शर्माले शनिश्चरे मावि क्वारेन्टाइनमा बसेका सुमित गुप्तासँग त दोहोरो सम्वाद नै गरे । १२ दिनदेखि क्वारेन्टाइनमा बसेका गुप्ताले व्यक्त गरेको चिन्तामा सान्त्वना दिँदै शर्माले भने,“ नआत्तिनुस्, क्वारेन्टाइनमा बस्नु भनेको बिरामी हुनु होइन,सुरक्षित हुनु हो ।” उनले भौतिक दुरी कायम गरेर बस्न र उच्च मनोबल बनाउन गुप्तामार्फत क्वारेन्टाइनका सबैलाई आग्रह गरे । शर्माले शिवसताक्षीको झरना, राधास्वामी, जेसीज भवन लगायत दर्जनौं क्वारेन्टाइनको अवलोकन गरे, गुनासो सुने र सुझाव राखे । शर्माकी क्याम्पस सहपाठी चन्द्रा श्रेष्ठले समस्याको सामनामा साथीको साथ पाएको अनुभव सुनाइन् । भद्रपुर नगरपालिकाका उपप्रमुख समेत रहेकी श्रेष्ठले भनिन्, “ क्याम्पस पढ्दादेखिको शर्माको सकारात्मक सोच अहिले झन् चुलिएको पाएँ ।” विचार फरक भए पनि शर्मा आफ्नो क्याम्पसदेखिकै मिल्ने साथी भएको बताइन् । अर्जुनधारा नगरपालिकाका प्रमुख हरि राना,बिर्तामोडका उपप्रमुख पवित्रा महतरा, कनकाई प्रमुख राजेन्द्र पोखरेल, शिवसताक्षी नगरपालिकाका चन्द्रकुमार शेर्मा र दमक नगरपालिकाका प्रमुख रोम ओलीले शर्मासँगको भेट भावनात्मक सम्बन्धको अनुभव भएको प्रतिक्रिया दिए । शर्माले गृहनगर मेचीनगर नगरपालिकामा एक सय थान भिटिएम दिए । बुद्धशान्तिमा एकसय थान भिटिएम, पाँच थान पिपिइ, एकसय मास्क र एक कार्टुन सेनिटाइजर उपलब्ध गराए । शर्माले भद्रपुर,गौरादह, बिर्तामोड, दमक , कनकाई अर्जुनधारा र शिवसताक्षी नगरपालिका र कचनकवल, बाह्रदशी, झापा,गौरीगञ्ज कमल र हल्दीबारी गाउँपालिका प्रत्येकलाई ५०– ५० थान भिटिएम ,पाँच – पाँच थान पीपीए, एकसय पिस एन ९५ मास्क,१ कार्टुन सेनिटाइजर उपलब्ध गराए। राजनीतिक कामले गृह जिल्ला आएका होलान् भन्ने सबैको अनुमानलाई स्वास्थ्य सामग्री बाँडेर प्रवक्ता शर्माले गलत सावित गराइदिए । “ महामारीका विषयमा कांग्रेस सरकारको साथमा छ ” उनले भने,“ मैले सबै पालिकामा जाँदा खाली हात जानु हुँदैन भनेर कोसेली लिएर आएको हुँ, सहयोग भनेर नबुझी दिँदा राम्रो हुन्छ ।” उनले मुलुक महामारीको गम्भीर अव्यवस्थाबाट गुज्रिरहेको बताए । कोरोनाको अहिलेको अवस्थालाई फिल्मको टेलर संज्ञा दिएका उनले सबैले एक भएर कोरोनाको सामना गर्नु पर्ने बताए । शर्माले जिल्लाबासीका लागि सहयोग गर्न तीनवटै सरकारलाई अपिल समेत गरे ।

शर्माले ०७२ सालको महाभुकम्पपछि सुरु गरेको सर्प्राइज कामलाई कोरोना महामारीमा पनि निरन्तरता दिए । कसैसँग चन्दा नमागी उनले भुकम्प प्रभावित रामेछाप, सिन्धुपाल्चोक , रसुवा,काभ्रे, भोजपुर लगायत जिल्लामा विद्यालय र ५० औं घर बनाएर सर्प्राइज काम सुरु गरेका हुन् । स्वास्थ्य महोत्सव, हरेक दशैंमा उनको निर्वाचन क्षेत्रमा सञ्चालन स्वास्थ्य शिविर, देवीमाया मेचेलाई घर निर्माण उनले सुरु गरेका र गर्दै गरेका सर्प्राइज काम हुन् । उनले गरेका सामाजिक मात्रै होइन राजनीतिक काम पनि सर्प्राइज छन् र मानिन्छ । राजनीतिक रुपमा दोस्रो संविधानसभा निर्वाचनमा आफैंलाई पराजित गर्ने रविन कोइरालालाई माला पहिर्याएर अंगालो हालेर दिएको बधाई, प्रतिनिधिसभा निर्वाचनमा राम कार्कीलाई आफ्नै बारीमा फुलेको फूलको आफ्नै हातले उनेर माला लगाइ दिँदै जीतका लागि दिएको बधाई शर्माले गरेका चर्चाका काम हुन् । शर्माले पार्टीको १२ औं महाधिवेशनमा कांग्रेस झापाको सभापतिमा पराजित गर्ने उद्घब थापालाई १३ औं महाधिवेशनमा सर्वसम्मत सभापति बनाएर सबैलाई सर्प्राइज दिएका थिए । उनले गरेकामध्ये यी चर्चित काम मानिन्छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्