झापा , असार २१ । कोरोनाको महामारीका कारण वैदेशिक रोजगारीमा गएका नेपालीहरु यतिबेला धमाधम घर फर्किरहेका छन् । आखिर केही गर्न र मर्न स्वदेश नै चाहिने भएपछि बेलैमा घर फर्किएर गौरीगञ्ज १ महाभाराका तीन युवाहरुले आफूलाई बुद्धिमानी ठान्दैछन् ।

छत्र सुब्बा, तेजबहादुर लिम्बू र विकास लिम्बूले बेलैमा घर फर्किएर स्वदेशमा उद्यम गर्न सकेकोमा ढुक्क छन् । उनीहरुले एक वर्षअघि कर्मशील कृषि फार्म खोलेर व्यावसायिक मौरीपालन शुरु गरेका थिए । वैदेशिक रोजगारीबाट फर्केपछि ती युवाहरुले अरु एकजना साझेदार खोजेर शुरु गरेको मौरीपालनबाट विदेशको कमाइ नेपालमै गर्न सफल भएका छन् । ‘विदेशबाट थाकेर नेपालमै केही गरौं भनेर बेलैमा घर फर्कियौं’ मौरीपालन फार्मका अध्यक्ष छत्र सुब्बाले भने,‘ २५ घारदेखि शुरु गरेको व्यवसाय अहिले १०० घारमा पुर्याएका छौं ।’ छत्र पैसा कमाउन कतार गएका थिए । करीव १५ लाख रुपैयाँ लगानी गरेका उनीहरुको वार्षिक आम्दानी ७ लाख जति छ । अब सय घारलाई पनि बढाएर ४ सय घार पुर्याउने उनीहरुको लक्ष्य छ । झापामा पहिलोपटक मौरीपालन व्यवसाय गरेका सतासीधामका महिलाहरुबाट प्रेरित भएर आफूहरुले यो व्यवसाय थालेको फार्मका सचिव विकास लिम्बू बताउँछन् । ‘सतासीधामका महिलाहरु मौरी चराउन आफ्नो गाउँमा आउँदा उहाँहरुबाट प्रेरणा मिल्यो’ उनले भने,‘ विदेशबाट फर्केर केही गर्ने अठोट पनि थियो ।’ विकास वैदेशिक रोजगारीका लागि बहराइन र मलेसिया गएका थिए । फार्मका उपाध्यक्ष तेजबहादुर लिम्बू पनि मलेसिया र दुबई बसेर फर्केका हुन् । विदेशबाट थाकेर घर फर्केका ती युवाहरु अहिले स्वदेशमै केही गर्न लागिपरेका छन् । उनीहरुलाई फार्मकी कोषाध्यक्ष दिब्या निरौलाले साथ दिइरहेकी छन् । मौरीपालनको लागि अहिले अफसिजन हो । अहिले चिनी खुवाएर उनीहरुले मौरी पालिरहेका छन् । ‘दिनको ५० किलो चिनी खर्च हुन्छ ’छत्रले भने,‘ अहिले खासै आम्दानी पनि छैन ।’ मौरीलाई आहाराका लागि चितवन, कानेपोखरी र इलामसम्म चराउन जाने गरेका छन् । ‘ एक–दुई महिना हामी बाहिरै हुन्छौ’ सचिव विकासले भने । जंगली स्रोत भएको मह प्रतिकेजी ८ सय र तोरी फापरको प्रतिकेजी ६ सय रुपैयाँका दरले बिक्री गर्ने हुने गरेको छ ।
मौरीपालनसँगै ती युवाहरुले सूर्यमुखीको खेती पनि शुरु गरेका छन् । यस वर्ष उनीहरुले लिजमा लिएर १२ बिघामा खेती गरे । आगामी वर्ष १५–२० बिघामा लगाउने उनीहरुको योजना छ ।‘ सूर्यमुखी खेतीका बारेमा धेरै कुरा जानियो’अध्यक्ष छत्रले भने,‘ व्यावसायिक खेती गरेर आत्मनिर्भर बन्ने सोचाइ राखेका छौं ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्