झापा , असार २३ । झापाको बाह्रदशीमा एकजना कोरोना संक्रमित थपिएका छन् ।

भारतको गोवाबाट फर्किएका बाह्रदशी गाउँपालिका वडा नं २ का २५ वर्षिय युवामा कोरोना देखिएको हो । उनी एक साताअघि भारतबाट घर फर्किएर पशुपति मावि क्वारेन्टाइन राजगढमा बसेका थिए । असार १८ गते ३३ जनाको नमूना संकलन गरी पठाइएकोमा त्यसमध्ये एकजनाको रिपोर्ट पोजिटिभ आएको क्वारेन्टाइन हेर्दै आएका बाह्रदशी ३ का वडाध्यक्ष विरेन्द्र राजवंशीले बताए । योसँगै बाह्रदशीमा कोरोना संक्रमितको सँख्या ९ पुगेको छ । झापामा भने संक्रमितको सँख्या २९० पुगेको छ । यसैबीच, आज नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या १६ हजार एक सय ६८ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र २०४ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ । सोमबार १८० जनाको रिपोर्ट पोजिटिभ आएको थियो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार एक सय ३३ जनाको पिसिआर परीक्षण गरिएको छ । अहिलेसम्म दुई लाख ६१ हजार आठ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको छ। अहिले २५ हजार सात सय २७ जना क्वारेन्टाइनमा छन् भने आठ हजार जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।
नेपालमा कुल कोरोना संक्रमितमध्ये ४६ प्रतिशतले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार अहिलेसम्म संक्रमितमध्ये ४६.४ प्रतिशतले कोरोना जितेका हुन् । पछिल्लो २४ घण्टामा मात्र चार सय ९९ जनाले कोरोना जितेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्