गौरादह, असार २३ । झापा गौरादह नगरपालिका १ की कोरोना संक्रमित वृद्धाको सम्पर्कमा आएका १०१ जनाको पहिचान भएको छ ।

कन्ट्याक्ट ट्रेसिङ ( सम्पर्क पहिचान ) का आधारमा उनीहरुको पहिचान भएको हो ।
ती वृद्धाको सम्पर्कमा आएका १०१ जनाको स्वाब संकलन गरिएको छ । पिसिआर परीक्षणका लागि स्वाब बिराटनगर पठाइएको गौरादह नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पर्शुराम भट्टराईले जानकारी दिए । गौरादह बजार क्षेत्रमा सुरक्षा अवस्था कडा परिएको छ । बिहानैदेखि सुरक्षाकर्मी परिचालित भएका छन् । एम्बुलेन्स र औषधी पसलबाहेक सबै बन्द गरिएको छ । गौरादह नगरपालिकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सूचना जारी गरेको छ । गौरादह १ नवदुर्गा पेट्रोल पम्प नजिक घर भएकी वृद्धा सयौं मानिस सम्पर्कमा आएको खुलेपछि गौरादहमा समुदायमा कोरोना संक्रमण फैलने डर बढेको हो ।
घाँटीमा समस्या देखिएपछि ती महिलालाई असार ११ गते सुरुमा बिर्तामोडको बीएण्डसी हस्पिटल लगिएको थियोे । त्यहाँबाट लगत्तै बिर्तामोडकै निलकण्ठ डाइग्नोस्टिक सेन्टर पुर्याइएको थियो । बिर्तामोडमा उपचार असम्भव भएपछि काठमाडौँको पाटन अस्पताल लगिएको छ । उनको साथमा छोरा बुहारी छन् ।ती वृद्धा बिरामी भएपछि उनलाई भेट्न दमक र भद्रपुरबाट आफन्तहरु आएको खुलेको छ । पाटन हस्पिटलमा पिसिआर परीक्षण गर्दा ती वृद्धामा कोरोना पोजेटिभ भेटिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्