बिर्तामोड, असार २४ । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना हुने निश्चित भएपछि दाताहरु सहयोग गर्न उत्साही देखिएका छन् ।

बुधबार मात्र दाताहरुले एउटै कार्यक्रममा १९ लाख रुपैयाँभन्दा बढी सहयोग ल्याब स्थापनाका लागि प्रदान गरेका हुन् । एक कार्यक्रमका बीच ‘एकका लागि एक अभियान’ लाई उनीहरुले नगद हस्तान्तरण गरेका थिए । दाताहरुले स्वतस्फूर्त रकम सहयोग गर्ने क्रम जारी रहेको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघको अतिथि सदनमा आयोजित कार्यक्रममा १९ लाख १४ हजार ७९५ रुपैयाँ प्राप्त भएको छ । बुधबार २४ वटा संस्था र ३२ जनाले व्यक्तिगत रुपमा सहयोग हस्तान्तरण गरेको अभियानका सचिवालय प्रमुख गोपाल भट्टराईले जानकारी दिए । संस्थागत रुपमा सात लाख ८९ हजार ७५८ र व्यक्तिगत रुपमा ११ लाख २५ हजार ३७ रुपैयाँ सहयोग प्राप्त भएको छ । रकम ग्रहण कार्यक्रममा अभियानको तर्फबाट संयोजक महेन्द्रकुमार गिरी, सहसंयोजक विनोद बस्नेत, सदस्यहरु मदनगोपाल सुब्बा, कुमार भट्टराई, ओमकृष्ण बिमली, हरि शर्मा, कुमारमणि पोखरेल, शिवकुमार कँडेल, गजेन्द्र पौडेल, सञ्जीव घिमिरे, निर्मल भट्टराई, अर्जुन चुँडाललगायतको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण पत्रकार एकराज गिरीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्