भद्रपुर, असार २४ ।लकडाउन खुल्ने बित्तिकै भद्रपुर नगरपालिका बालमैत्री नगर घोषणा हुने भएको छ ।

प्रदेश नं १ कै पहिलो र देशकै पाँचौं बालमैत्री स्थानीय शासन उन्मूख भद्रपुर नगरपालिकाले बालमैत्री स्थानीय शासनसम्बन्धी १४ चरण पूरा गरेको हो । बालमैत्री स्थानीय शासनसम्बन्धी पूरा गर्नुपर्ने १६ चरणमध्ये अभियान शुरु गरेको दुई वर्षमा भद्रपुरले १४ चरण पूरा गरेको बुधबार बालमैत्री स्थानीय शासन नगर समितिको बैठकमा जानकारी गराइयो ।
समितिका अध्यक्ष नगर प्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा अभियानका संयोजक दिपक पाण्डेले बालमैत्री अभियानका क्रममा भएका प्रगतिकाबारे जानकारी गराएका थिए भने वडास्तरमा भएको प्रगतिको बारेमा छलफल गरिएको थियो ।
नगरपालिकाले बालकोष स्थापना, बालबालिकाबारे वस्तुगत विवरण तयारी, बालमैत्री अवधारणाबारे अभिमुखीकरण, विभिन्न तहमा बाल समिति गठन, बालमैत्री स्थानीय शासन कार्ययोजना निर्माण, सम्पर्क विन्दु तोकी इकाई र शाखाको प्रवन्ध, मापदण्डको आधारमा वडा र टोलहरु निर्माण, सामुदायिक संस्थाहरु गठन, सरोकारवालाहरुको पहिचान र सञ्जाल निर्माण, सरोकारवालाहरुबाट प्रतिवद्धता घोषणा, आवधिक, वार्षिक योजना तर्जुमा गरी लगानीको सुनिश्चितताकासाथ कार्ययोजना निर्माण, स्थितिपत्र तयारी र सार्वजनिकीकरण एवम् अनुगमन, समीक्षा र मूल्यांकनको व्यवस्था, पूँजीगत बजेटको १५ प्रतिशत रकम विनियोजन गरी लगानी गर्नेजस्ता चरण पूरा गरेको हो भने सूचक निर्धारण गर्ने र बालमैत्री वडा र नगर घोषणा गर्ने चरण पुरा गर्न बाँकी रहेको छ ।
लकडाउन खुल्ने बित्तिकै यी दुई चरण पूरा गरी भद्रपुरलाई बालमैत्री नगर घोषणा गर्ने गरी बालमैत्री नगर अभियानलाई तीव्रता दिइएको नगर प्रमुख श्रेष्ठले बताए ।
बालमैत्री सूचक पूरा गरिसकेको भद्रपुर ७ नं वडाका आठवटा विद्यालय यसअघि नै बालमैत्री विद्यालय घोषणा भइसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्