मेचीनगर, असार २४ । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७÷०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा कोरोना भाइरसले पारेको प्रभाव र निराकरणका उपायका साथै आर्थिक, समृद्घि, सुशासन, सामाजिक समावेशिता, वातावरण, तथा पर्यावरणमैत्री कार्यक्रम, स्वरोजगार एवम् गरिवी निवारणसम्बन्धी नीतिलाई प्रमुख आधार बनाइएको छ । धुलावारीको स्वास्थ्य केन्द्रलाई २५ शैय्याको अस्पताल र मेची आम्दा हस्पिटललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने नगरको नीति रहेको छ ।
सघीयताको मर्म एवम् भावनाअनुरुप नगरको समग्र विकासमा वडास्तरको भूमिकालाई अझ बढी प्रभावकारीे बनाउने उद्देश्यकासाथ वजेट नीति तथा कार्यक्रम प्रस्तावित गरिएको हो । नेपालको संविधान २०७२ वमोजिम स्थानीय तहको निर्वाचनबाट यस नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले पद वहाल गरिसकेपछि ‘मेचीनगर नेपालको पूर्वीद्वार, कृषि र पर्यटन समृद्धिको मूल आधार’ भत्रे नगर दृष्टिकोण कार्यान्वयन गर्न नगरवासीको आर्थिक विकास, सुशासन र समृद्घिको चाहनालाई परिपूर्ति गर्न जनसहभागिता,उत्तरदायित्व, पारदर्शितालाई सुनिश्चित गर्दै यस नगरलाई व्यवस्थित, सफा, सुन्दर र सबल नगर वनाउन तथा विभिन्न नीति तथा कार्यक्रमहरु अवलम्वन गरिएको छ ।
नगरप्रमुख विमल आचार्यको अध्यक्षतामा सम्पन्न छैठौ नगरसभामा उपस्थित १ नम्बर प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली ,नगर कार्यपालिकाका पदाधिकारीहरु, वडाध्यक्ष र नगर सदस्यहरूको उपस्थितिमा १७ पृष्ठ लामो वार्षिक नगर विकास योजनाको लागि उपप्रमुख मीना पोखरेल उप्रेतीले आगामी आर्थिक वर्ष २०७७÷२०७८ को वार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिन् । स्थानीय सरकार सञ्चालनको अभ्यास, नगर योजनामा प्राथमिकता, योजना छनौट, नीति तथा कार्यक्रम स्वीकृति, वडा योजना तथा कार्यक्रम, नगरका गौरवका योजना तथा कार्यक्रम, लागत सहभागिता सम्वन्धि नीतिलाई समेत नगरका प्रमुख नीतिहरुका रुपमा राखिएको छ ।
विश्वव्यापी महामारीकोे रुपमा रहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न र सोको कारण शिथिल बनेको नगरको अर्थतन्त्रलार्ई चलायमान गराउनुपर्ने चुनौतीहरुकाबीचमा नगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटकोे तर्जुमा गर्दा नगरपालिकाले गहन जिम्मेवारी बोेध गरेकोे छ ।
उपप्रमुख उप्रेतीले स्थानीय आवश्यकता अनुुसार परियोजनाहरु छनौट गरी संघीयता र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को भावना र मर्म बमोजिम हरेक वडाका लागि वडास्तरीय योजना छनौट गरी सञ्चालन गर्न वडास्तरीय बजेट सिलिङ १ करोड निर्धारण गरी कार्यान्वयन गरिने, सााथै थप स्रोत प्राप्त भएमा ५० लाखका पूर्वाधारका कार्यक्रमअन्तर्गत बढीमा ३ वटा योजना छनोट गरिने समेत बताईन् । नगर कार्यपालिकाबाट स्वीकृत हुने कार्यविधिअनुसार आयोजना गरी सञ्चालन गर्ने गरी पूर्वाधार विकास कार्यक्रमको लागि १ करोेड २० लाख बजेट व्यवस्था गर्ने नीति तर्जुमा गरिएको छ । मेचीनगरको गौरवका आयोजना तथा कार्यक्रमका रुपमा यसअघि स्वीकृत भई सञ्चालनमा रहेका योजना तथा कार्यक्रमहरु आगामी दुई वर्षभित्रै सम्पन्न गर्ने नीति लिइएको छ ।
सम्पन्न नगरसभामा उपप्रमुख उप्रेतीले प्रस्तुत गरेको नीति कार्यक्रममा नगरपालिकाले चालुु आर्थिक वर्षमा सवारी साधन, यान्त्रिक साधन, आइटीका सामान, फर्निचर, सजावटका सामग्री आदि खरिद नगर्ने , नगरपालिकाबाट एक लाखभन्दा माथिको रकमको बिल भर्पाइ भुक्तानी हुनुभन्दा एक दिन अघि नगरपालिकाको वेबसाइटमार्फत सार्वजनिक गरेर मात्र भुक्तानी प्रक्रिया अघि बढाउने नीति लिएको छ ।
नगरप्रमुख विमल आचार्यले प्रस्तुत नीति र कार्यक्रमका बारेमा थप प्रष्ट पार्दै १५ वटै वडाबाट प्रतिनिधिमुलकरुपमा आ—आफ्नो विचार राख्न नगर सदस्यहरुलाई समय दिएका थिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र खाम्याहाङले सञ्चालन गरेको कार्यक्रममा १ नम्बर प्रदेश सांसद् श्रीप्रसाद मैनालीले उद्घाटन मन्तव्य र उपप्रमुख उप्रेतीले स्वागत गरेकी थिइन् भने नगरसभा सदस्य धिरावती लिम्बु, लीलादेवी कन्दङ्वालगायतले बोेलेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्