झापा, असार २५ । व्यापार व्यवसाय थला परेको छ । हिजो दैनिक लाखौं रुपैयाँ कमाउने व्यापारी अहिले फुर्सदिला छन् । सरकारले घोषणा गरेको बन्दाबन्दीसँगै लगाइएका कतिपय पसलका ढोका र सटरहरु अहिले पनि खुलेका छैनन् । तर, नयाँ उपाय र जागर भएका व्यापारीको कमाइ हिजोको भन्दा आज बढी छ ।

झट्ट सुन्दा यो धेरैलाई पत्यार लाग्दैन । यद्यपि,झापा हल्दीबारी २ पाराखोपीका व्यापारी कृष्ण बस्नेतले दैनिक २० हजार भन्दा बढीको व्यापार गरिरहेका छन् । स्थानीय धनुषाचोकमा भेटिएका कृष्णले गर्वका साथ भने,“ पसल खोलेर बस्दा कुनै टुङ्गो हुँदैन थियो,अहिले सरदर २० हजार बढी नै बिक्री भैरहेको छ । “ लकडाउनमा राम्रै व्यापार भैरहेको उनले सुनाए । विशेष गरेर भान्साका सामानको व्यापार गर्ने कृष्ण ( छोटाहात्ती) केरियरमा सामान लोड गर्छन् र बेच्न निस्कन्छन् । हरेक दिन बिहान ११ बजे घरबाट निस्कने उनी दिउँसो ४ — ५ बजे फर्कन्छन् । उनको केरियर पसलमा चम्चीदेखि ग्यास चुल्होसम्म पाइन्छ । भान्साको सामान किन्न निस्फिक्री सकिन्छ । उनी केरियर आफैं हाँक्छ्न्। सामान बेच्न छोरी निर्जलाले साथ दिन्छे । भद्रपुरको प्रज्ञा एकाडेमीमा पढ्ने निर्जलाले भनिन्, “ बाबाले गाडी आफैं हाक्नु हुन्छ, म सामान लोड गर्न , झिक्न सघाउँछु, व्यापार राम्रै भैरहेको छ ।” कक्षा ९ मा पढ्ने निर्जला बोर्डिङ बन्द रहेको यो बेला बुबासँग हिँडेर व्यापार गर्न सिकेकोमा खुशी छन् । “ हाम्रो घरमै पसल छ,तर म पसलमा बस्दिनथे ” निर्जलाले भनिन्, “ घरमा बस्दाबस्दा दिक्क हुन्छ,बुबासँग हिड्दा ठाउँ पनि देखियो, व्यापार पनि सिकियो ।” उनले मजाले समय बितिरहेको सुनाइन् ।

कृष्णले हरेक दिन १० देखि १५ किलोमिटर केरियर कुदाउँछन् । पाराखोपी— काजली, यलम्बरचोक— शम्भुचोक, धनुषाचोक घुमेर पाराखोपी फर्कनु उनीहरुको दैनिकी नै हो । घरको व्यापारमा श्रीमती र छोराले सघाउने गरेको कृष्णले बताए। कृष्णले भने,“ सबै कुरा बन्द भएको बेला मैले नयाँ उपाय निकालेँ, थोरै दुःख भए पनि व्यापार पहिलाको भन्दा राम्रो छ। ” घरमा १ — २ हजारदेखि झुक्किएर १० हजारसम्मको बिक्री हुने गरेको सुनाएका कृष्णले यही व्यापारबाट ६ जनाको परिवार मजाले पालिएको बताए । छोराछोरी पढाउन, घर खर्च गर्न यसरी व्यापार गर्नुको विकल्प नभएको उनले सुनाए । कृष्णले यो व्यापार सुरु गरेको एक दशक बित्यो । त्यसभन्दा अघि उनी पत्रपत्रिका , देवताका तस्वीर, पूजाको सामग्री, नायक, नायिकाको पोष्टर लगायतको व्यापार गर्थे । “ क, ख, ए,वी, सी डी, अ,आ, इ, ई लेखिएका सामग्री पनि बेचेँ ” उनले भने,“ जमाना फेरियो,ती सामान कम बिक्री हुन थालेपछि यो व्यापार सुरु गरेको हुँ।” ४८ सालदेखि व्यापारमा लागेका उनले यसैले गुजारा चलेको सुनाए । “ मैले ५० सालमा एसएलसी पास गरेँ ” उनले भने,“ धेरै पढ्न सकिएन, सानैदेखि व्यापारमा लागियो,अरु केही गर्ने सोच नै जागेन । ” परिवार धानेर केही बचत समेत गरेको सुनाएका उनले परिश्रम गरे महिनामा ४०— ५० हजार कमाउन विदेश जानु नपर्ने बताए । उनले भने,“ किस्मत गरेपछि गाउँमै बसेर पनि कमाइ गर्न सकिँदो रहेछ ।”

१ प्रतिक्रिया

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्