दमक , असार २५ । दमक ९ स्थित सरस्वती माविको प्रधानाध्यापक कक्षमा आज नेपाल विद्यार्थी संघ झापाले आज तालाबन्दी गरेको छ ।

संघका जिल्ला नेतासहितको समुहले आज निमित्त प्रधानाध्यापक नरबहादुर थापालाई कक्ष बाहिर निकालेर तालाबन्दी गरेको हो ।सो विद्यालयमा गत माघ ५ गतेदेखि तत्कालिन प्रधानाध्यापक गणेशकुमार पौडेलले राजीनामा दिएपछि रिक्त रहेको ठाउँमा राजनीतिकरण गरी निमित्त प्रधानाध्यापक तोकिएको भन्दै सरोकारवालाहरुले आपत्ति जनाउँदै आएका छन् । शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ को परिच्छेद १७ नियम ९३ को उपनियम १२ बमोजिम विद्यालयमा कार्यरत ज्येष्ठ शिक्षकलाई प्रअको जिम्मेवारी दिनुपर्नेमा सो व्यवस्थालाई कुल्चिदैं व्यवस्थापन समितिले नरबहादुर थापालाई निमित्त प्रअको जिम्मेवारी दिएको भन्दै असन्तुष्टि बाहिर आएको हो । केही दिन अघि नेपाली कांग्रेस नगर समितिले सो बिषयलगायत समग्र शैक्षिक सरोकारका बिषयमा ध्यानाकर्षण गराउँदै नगरपालिकामा ज्ञापनपत्र बुझाएको थियो । सो बिषयमा नगर शिक्षा समितिले सुनुवाई नगरेका कारण बाध्य भएर आफूहरुले तालाबन्दी गर्नुपरेको नेविसंघ झापाका उपसभापति भवानी काफ्लेले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्