बिर्तामोड, असार २५ । बिर्तामोड नगरपालिकाको ३ नं वडा कार्यालयले प्रहरी चौकी बिर्ताबजारलाई एक सेट कम्प्यूटर प्रदान गरेको छ ।

आज एक कार्यक्रमका बीच बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौलाले करिव ५० हजार मूल्य बराबरको कम्प्यूटर सेट इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजाललाई हस्तान्तरण गरेका हुन् । वडाध्यक्ष सिटौलाले शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्न अहोरात्र खटिने प्रहरीलाई सहयोग पुग्नेगरी कम्प्यूटर प्रदान गरिएको बताए । उनले कोरोना भाइरसको महामारीमा जोखिम मोलेर सुरक्षाकर्मीहरु खटिरहेको अबस्थामा कोरोना सिद्धियो भनेर सर्वसाधारणले बेवास्ता गर्दा स्थिति भयावह बन्न सक्ने चेतावनी दिए । कम्प्युटर ग्रहण गर्दै प्रहरी नायव उपरीक्षक रिजालले स्थानीय सरकारले शान्ति सुरक्षाका लागि खटिने प्रहरीको सहयोगी र संरक्षक बन्नु पर्ने बताए । उनले वडा कार्यालयले दिएको सहयोगले ठूलो महत्व राख्ने धारणा राखे । इलाका प्रहरी कार्यालय बिर्तामोडको मातहतमा रहेको प्रहरी चौकी बिर्ताबजारमा १५ जना प्रहरीको दरबन्दी रहेको छ । २०२४ सालमा स्थापना भएको सो प्रहरी चौकी गत वर्षको असोज १३ गते स्थायी भएको हो । जिल्लामै महिला प्रहरीको कमाण्डमा रहेको एउटै मात्र प्रहरी चौकी बिर्ताबजार हो । जहाँ १५ जनामध्ये ३ जना मात्र पुरुष प्रहरी रहेका छन् । वडा कार्यालयले कम्प्युटर दिएपछि दैनिक कामकाजमा सहयोग पुग्ने प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक जानुका चौहानले बताइन् । उनले कम्प्युटर नहुँदा हातले निवेदन लेख्नुपर्ने , अभिलेख व्यवस्थित नहुनेजस्ता समस्या रहेको जानकारी दिइन् । त्यस कार्यक्रमको संचालन वडा सचिव भीम अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्