बिर्तामोड, असार २६ । झापा जिल्ला सहकारी संघमार्फत बिहीबार ३ लाख २ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।

झापामा पिसिआर ल्याब स्थापना गर्न एकका लागि अभियानलाई सहयोग प्राप्त भएको हो । जनस्तरबाट झापाको कनकाई नगरपालिकाको कोटिहोमस्थितमा पिसिआर ल्याब स्थापना र सञ्चालनका लागि संघमार्फत रकम उपलब्ध गराइएको हो ।
अभियानलाई बिर्तामोडका तीनवटा सहकारी संस्थाले नगद हस्तान्तरण गरेका छन् । अतिथि सदनमा आयोजित कार्यक्रममा हाम्रो नेपाल साकोसले एक लाख एक हजार, पब्लिक साकोसले एक लाख एक हजार र सिम्रिक साकोसले एक लाख हस्तान्तरण गरे । हाम्रो नेपालको तर्फबाट अध्यक्ष भवानीप्रसाद दंगाल, सचिव विपी लामिछाने, लेखा समिति संयोजक कृष्णराज कटुवाल, सिम्रिक साकोसको तर्फबाट अध्यक्ष कमल बस्नेत, सचिव सुवास भट्टराई, अधिकृतद्वय मिनबहादुर अधिकारी र विजय बस्नेत तथा पब्लिक साकोसको तर्फबाट अध्यक्ष प्रमिला गौतमले अभियानका सहसंयोजक विनोद बस्नेतलाई चेक हस्तान्तरण गरे ।
संघका झापा अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा अभियानका सहसंयोजक विनोद बस्नेतले कार्यक्रमको औचित्य र अभियानको उद्देश्यमाथि प्रकाश पारेका थिए । नेफ्स्कुनका केन्द्रीय सदस्य घनश्याम अधिकारीले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल अलैँची व्यवसायी महासंघले २५ हजार रुपैयाँ प्रदान गरेको अभियानका सदस्य एकराज गिरीले बताए ।
अभियानको कोषमा एक करोड रुपैयाँ जम्मा भइसकेको छ । सहकारी संघले २५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । हालसम्म १७ लाख रुपैयाँ जम्मा भइसकेको सहसचिव भवानीप्रसाद दङ्गालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्