शिवसताक्षी, असार २६ । शिवसताक्षी नगरपालिका ११ स्थित एक बाटोमा स्थानीय महिलाहरुले रोपाई गरेका छन् ।

मुख्य लोकमार्ग २ सय मिटर दक्षिणमा सतासीधाम सामुदायिक अध्ययन केन्द्रको भवन हुँदैं दक्षिण जाने बाटोमा महिलाहरुले धान रोपेका हुन् । शिवसताक्षी नगरपालिकाले नगरभरिका अधिकांश बाटोहरु स्तरोन्नति भई जुनसुकै समयमा पनि सवारी साधन चल्न सक्ने भनिरहँदा मानिससम्म हिड्न नसक्ने भएपछि विरोधस्वरुप धान रोपिएको स्थानीयहरुले बताएका छन् । सो बाटो भएर दैनिक निर्माण सामग्रीका ट्रयाक्टर तथा टिपरहरु कुद्न थालेपछि स्थानीयले वडाध्यक्ष भैरवकुमार श्रेष्ठलाई जानकारी दिएको बताएका छन् । तर, वडाध्यक्षले ‘जसले गाडी कुदाई बाटो बिगार्यो उसैलाई गएर भन्नु ’भन्दै तर्किएको र सवारी धनीलाई सो विषयमा जानकारी गराउँदा ‘सडक बनाउने काम हाम्रो होइन ’भन्दै पन्छिएको स्थानीय बबिता लिम्बुले बताइन् । उनले भनिन् ,‘ एकले अर्कालाई देखाउँछन्, अनि बाटोमा धान रोपेको हो ।’

त्यस्तै अर्की स्थानीय देवी बस्नेतले बिरामी भए अस्पताल लैजान झोलुङ्गोमै बिरामीलाई हालेर मुख्य सडकसम्म पुर्याउनु पर्ने अवस्था भएपछि वाध्य भएर धान रोप्नु परेको बताइन् । लगातार पानी परिरहेको अवस्थामा पनि सडकमा घण्टैपिच्छे ९ वटासम्म गाडी कुद्न थालेपछि बाटोमा हिड्न नसक्ने अवस्था आएपछि छिमेकीहरुको सल्लाहमा हिलो बाटोको दुवैतर्फ ढाट लगाई रोपाई गर्नुपरेको उर्मिला आचार्यको भनाइ छ । उनी भन्छिन् ‘अति नै भयो, हिलोका कारण वल्लोदेखि पल्लोघरसम्म हिड्न नसक्ने अवस्था आएपछि बाटोमा निस्केर धान रोपेका हौं ।’
सो सडक निर्माण गर्न भनी वडा कार्यालयले केही वजेट छुट्टयाए पनि अन्यत्रै लगि गिटी बालुवा झारिएको स्थानीयहरुको भनाइ छ । धान रोपिएको सडकखण्ड दूधे बजार विकास समितिको क्षेत्राधिकारभित्र पर्दछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्