झापा, असार २७ । झापामा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ भने अर्का बेपत्ता भएका छन् ।

झापा गाउँपालिका ५ स्थित बिरीङ खोलाले बगाउँदा स्थानीय ३५ वर्षिय राजेश गणेशको मृत्यु भएको हो । आज दिउँसो २.३० बजेतिर मलामी जाँदा पौडी खेल्ने क्रममा उनलाई बाढीले बगाएर बेपत्ता बनाएको थियो । इलाका प्रहरी कार्यालय कुमरखोद र प्रहरी चौकी शरणामतीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले खोजतलास गर्दा गाउँलेको सहयोगमा साँझपख उनको लाश फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रहेका प्रहरी नायव उपरीक्षक राकेश थापाले जनाएका छन् ।
त्यस्तै मेची नदीले बगाउँदा भद्रपुर नगरपालिका ३ बस्ने ३३ वर्षिय हिरण राई बेपत्ता भएका छन् । भद्रपुर ३ नाउँघाटस्थित मेची खोलामा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका हुन् । अपरान्ह ४.३० बजे बेपत्ता भएका राईलाई साँझसम्म नभेटिएको प्रहरी चौकी महेशपुरले जनाएको छ । निरन्तरको भारी वर्षाका कारण विभिन्न खोलामा आएको बाढीले जिल्लामा जनधनको क्षति पुर्याएको छ । कन्काईको बाढीबाट शिवसताक्षी नगरपालिका वडा नं १० सुकुम्बासी बस्तीका चार परिवार बिस्थापित बनेका छन् । विस्थापित हुनेहरुमा प्रेमप्रसाद उप्रेती, तारा लिम्वु, हरिमाया ऋषिदेव र लालु मुसरको परिवार रहेका छन् । बाढीले भत्काउन लागेपछि सशस्त्र प्रहरीको टोलीले घर भत्काएर सुरक्षित स्थानमा सारेको थियो । उनीहरुलाई नेपाल रेडक्रस सोसाइटी झापा शाखाले २—२ थान त्रिपाल वितरण गरेको छ । यस अघि सोही ठाउँमा ५ परिवार विस्थापित भएका थिए । प्रतिपरिवार त्रिपाल २, कम्बल २, मेट्रेक्स २, बाल्टिन १ र डोरी वितरण गरिएको थियो । त्यस क्षेत्रमा थप १५ घर उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका मन्त्री चन्द्र चुँडालले बताए । उनका अनुसार उच्च जोखिममा रहेका घर विजय ऋषिदेव, पुसु ऋषिदेव, रूद्र न्यौपाने, डम्वर बहादुर निरौला र महेन्द्र पाठकका छन् । त्यसबाहेक अन्य परिवार पनि जोखिममा रहेको चुँडालले बताए ।त्यस्तै कनकाई नदीमा आएको बाढीले गौरीगञ्ज गाउँपालिका १ होकलबारीका तीन परिवार विस्थापित बनेका छन् भने १२ घर जोखिममा परेका छन् । विस्थापित बन्नेहरुमा रामजीत मुर्मू, लालप्रसाद राई र दिलिप राईको परिवार रहेका छन् । डुबानमा परेका उनीहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको गौरीगञ्ज १ का वडा सदस्य राजभक्त सुनुवारले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्