मनिषा चम्लागाईँ ।झापा । ‘आमाको काख अरुको लाख’ भन्ने नेपाली उखान छ । तर, एउटा शिशुले जन्मेको चौथो दिनमा आमाको काखबाट बञ्चित हुनुप¥यो । बञ्चित हुनुको कारण पनि आफ्नै बाबु र आफन्त । यो घटनाले समाज कति समवेदनाहिन भएको छ भन्ने प्रष्ट पार्छ ।
इलाका प्रहरी कार्यालय दमक झापामा जेठ १० गते एक महिलाले आफ्नो ४ महिने शिशु खोजतलास गरिदिनको लागि निवेदन दर्ता गराईन् । निवेदनमा आफ्नो ४ महिनाको शिशु (छोरी) जन्मेको ४ दिनमा आफ्नै श्रीमान्ले कान छेड्ने बहानामा लिएर गएको र बेपता बनाएको उल्लेख गरिएको प्रहरीले जनाएको छ । बेपता बनाएको कुरा कसैलाई भनेमा मार्ने धम्की दिएको महिलाले निवेदनमा उल्लेख गरेकी थिईन् ।
बच्चा खोजतलास गर्ने क्रममा निवेदन बमोजिम प्रहरीले महिलाका श्रीमान्लाई ज्येष्ठ १२ गते नियन्त्रणमा लियो । प्रहरी बयानका क्रममा श्रीमान्ले बच्चा कहिले पोखराको मानिसलाई पाल्न दिएको त कहिले मारेर रतुवा खोलाको किनारमा गाढेको भन्दै फरक– फरक कुरा बताउने हुँदा अनुसन्धानमा संलग्न प्रहरीसमेत रणभुल्लमा परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।
अनुसन्धानको क्रममा सोलुखुम्बु सोताङ नगरपालिका घर भइ हाल काठमाडौँ गोकर्णेश्वर बस्ने एक महिलाले बच्चा लगेको खुल्न आएको प्रहरीको भनाइ छ । शुरुमा प्रहरी सम्पर्कमा आएकी महिला पछि सम्पर्कविहीन भइन् । जसले अनुसन्धानमा केही जटिलता थपेपनि दमक प्रहरीले महानगरीय प्रहरी परिसर काठमाण्डौँ, प्रहरी प्रभाग बौद्ध र बालबालिका खोजतलास केन्द्र भृकुटीमण्डपसँग समन्वय ग¥यो । बौद्ध प्रहरी र बालबालिका खोजतलास केन्द्रको सहयोगले शिशुलाई उद्धार गरी दमकसम्म ल्याउन प्रहरी सफल भयो । अहिले निवेदक आमा, चार महिनासम्म बच्चालाई संरक्षण गर्ने महिला र बच्चा दमक नगरपालिका मातहतमा रहेको अल्पकालिन संरक्षण गृह (सेफ हाउस)मा रहेका छन् ।
चार दिनको शिशुलाई हुर्काएर ४ महिनासम्म मातृवात्सल्य दिने महिला आफू निसन्तान भएको र बच्चाको इच्छा धेरै भएकोले बच्चा पाउँदा निकै खुशी भएको प्रहरीसामु बताउँछिन । “धरानमा रहेकी आफ्नी भदैनीले एउटा बच्चा दिने मानिस फेला परेको छ, पाल्ने हो भनेपछि हुन्छ भनेकी हुँ” महिला भन्छिन् । “बच्चा लानुभन्दा एक महिनाअघि म सोलुखुम्बु गएको थिएँ, श्रीमान्लाई समेत आफू गर्भवती भएको भनेर भनेकी थिएँ” उनले भनिन् “भदैनीले बच्चा लिन आउनु भनेपछि धरानमा आफैँले बच्चा जन्माएको हुँ भनेर श्रीमान्लाई ढाँटे ।” प्रहरी बयानअनुसार फागुन ३ गते सोलुखुम्बुदेखि इटहरी आएर होटलमा बसेर ४ गते दमकमा भदैनी र एक अपरिचित महिलाले बच्चा दिएका हुन् । महिलाले भनिन् “म सोही दिन काठमाडौँ फर्के ।” आफू र श्रीमान् सामान्य ज्याला मजदुरी गरेर जीवनयापन गर्ने गरेको उनी बताउँछिन् ।
चार दिनको शिशुलाई छुट्याएर लगेपश्चात् करिब ४ महिना पछाडि मात्र किन उजुरी भन्ने विषयमा पारिवारिक श्रोतले केही बताउन नचाहेको प्रहरीको भनाइ छ । मार्ने धम्की, डर र त्रासको कारणले कतै उजुरी नगरेको शिशुकी आमा बताउँछिन् । “श्रीमान्ले सुत्केरी हुँदा बच्चा मरेको भन्नु नत्र तलाई मार्छु भनेको कारण डरले लामो समयसम्म उजुर नगरेकी हुँ” उनले सुनाइन् ।
दमकस्थित ऊँ मेची अस्पतालमा बच्चालाई जन्म दिएकी महिलाले सुत्केरी गराउँदा बुबाआमा दुबैले वास्तविक नाम नलेखाइ फरक नाम उल्लेख गरी सुत्केरी गराएको प्रहरीले जनाएको छ । घटनाको सुक्ष्मरुपले अनुसन्धान भइरहेको र अबोध शिशुको जीवनसँग खेलवाड गर्नेलाई कानुन बमोजिम कारवाही हुने इलाका प्रहरी कार्यालय दमकका डिएसपी पण्डितले बताए । “घटनाको वास्तविकता के हो ? क–कसको संलग्नता रहेको छ ? अबोध शिशुको जीवनसँग आर्थिक लेनदेन जोडिएको छ, छैन ? भन्ने विषयमा अनुसन्धान गरिरहेका छौँ” पण्डितले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्