दमक ,असार २८ । लकडाउनका कारण स्कुल जान नपाएका बिद्यार्थीहरुलाई लक्षित गरी सप्तरङ्गी एफ.एम.ले सञ्चालन गरेको रेडियोमा स्कुल कार्यक्रम प्रभावकारी बन्दै गएको पाईएको छ ।

लकडाउनले ठप्प रहेको शैक्षिक गतिबिधिलाई बैकल्पिक माध्यमबाट अघि बढाउन ईलामको चुलाचुली गाउँपालिकासंगको सहकार्यमा दमकस्थित सप्तरङ्गी एफ.एम.ले गत असार २१ गतेदेखि रेडियोबाट कक्षा सञ्चालन गरिरहेको हो ।
बिहान १० बजेबाट सुरु हुने रेडियोमा स्कुल कार्यक्रममा बिद्यार्थीहरुको सहभागिता उत्साहजनक रहेको पाईएको एफ.एम.का प्रबन्ध निर्देशक गिरिराज भट्टराईले जानकारी दिए । रेडियोको टेलिफोनमा बिद्यार्थीहरुले सम्पर्क गरी जिज्ञासा राख्ने गरेकाले कार्यक्रम प्रभावकारी भएको पाईएको उनले बताए । अनुगमनका क्रममा दैनिकरुपमा बिद्यार्थीहरु घरघरमा समुह बनाएर रेडियो सुन्ने गरेको पाईएको चुलाचुली २ स्थित पञ्चकन्या आधारभूत बिद्यालयका प्रधानाध्यापक सुरेन्द्र कटुवालले बताए । स्कुल सञ्चालन नभएका बेला रेडियो कार्यक्रम अत्यन्तै प्रभावकारी भएको पाईएकोले यसलाई निरन्तरता दिनुपर्ने भन्दै गाउँपालिकाको शिक्षा शाखामा कुरा राख्ने तयारी गरिएको उनले बताए ।
लकडाउनका समयमा पनि बिद्यार्थीहरुको सिकाई क्रियाकलाप अबरुद्ध नहोस् भनेर रेडियोबाट कक्षा सञ्चालन गरेको चुलाचुली गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद मिश्रले बताए । कार्यक्रम सुरु गर्नुभन्दा अघि कस्तो होला भन्ने अन्यौल रहेको भएपनि अहिले अभिभावकबाट पनि राम्रो प्रतिक्रिया आएकोले खुशी लागेको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्