बिर्तामोड (प्रस) झापा प्रहरीले हत्या अभियोग लागेका एक जनालाई पक्राउ गरी अदालत पेश गरेको छ । झापाको तत्काल्लीन टागनडुब्बा गाविस–९का नत्थु विकको हत्या आरोप लागेका पुण्यप्रसाद विश्वकर्मालाई प्रहरीले असार ३० गते मेचिनगर नगरपालिका–८ इँटाभट्टा चोकबाट पक्राउ गरेको हो ।
पक्राउ परेका विश्वकर्मालाई थुनामा राख्न जिल्ला अदालत झापाबाट असार ३१ गते ७ दिनको अनुमति लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरलाले बताए । प्रहरीका अनुसार पुण्यले ०६३ चैत २४ गते कामाटोली बजारबाट नत्थुको साइकल अनुमति बिना नै लगेका थिए । त्यसपछि नत्थु आफ्नो साइकलका लागि पुण्यका ससुरा नन्दुलाल विश्वकर्माको घरमा पुगेका थिए ।


तर, रक्सीको नशामा रहेका पुण्यको कुटपिटबाट नत्थु गम्भीर घाइते भएका थिए । घाइते नत्थुलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होममा लगिएकोमा ०६३ चैत २५ गते ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए । घटना पश्चात मृतकका ससुरा रामबहादुर विकले पुण्यविरुद्ध किटानी जाहेरी दिएका थिए । उनको भने मृत्यु भइसकेको जनाइएको छ । झापा जिल्ला अदालतले गत वैशाख ३० गते पक्राउ पुर्जी जारी गरेपछि जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकटभिट्टाको टोलीले पुण्यप्रसादको खोजबिन शुरु गरेको प्रवक्ता थापाले जानकारी दिए । ढिलै भएपनि आफूले न्याय पाएको मृतककी श्रीमती चन्द्रिका विकले सुनाइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्