भद्रपुर, साउन २ ।संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले प्याब्सन, एन प्याब्सनको असार ३१ गतेको निर्णयबिरूद्ध आन्दोलन सुरू गरेको छ ।

संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई पारिश्रमिक दिनु पर्ने दायित्व बिर्सिएर विद्यालय सञ्चालकहरूले प्याब्सन, एन प्याब्सनको नाममा राज्यको कानुन विपरित साउन १ गतेबाट बेतलवी विदा दिने निर्णय गरेको भन्दै इस्टुले भद्रपुरबाट आन्दोलन सुरू गरेको हो ।
विद्यालय सञ्चालकहरूले गएको शैक्षिक वर्षको काम गरिसकेको समयको तलव नदिएकोे, सरकारले समेत भोकमरीमा परिसकेका शिक्षक कर्मचारीको सुरक्षाका लागि पहल नगरेकोप्रति आक्रोस पोख्दै इस्टुले सामाजिक न्यायको माग राखी सडक आन्दोलनमा जाने निर्णयसहित अभियान थालेको हो ।
भद्रपुर नगर समितिका अध्यक्ष द्रोण अधिकारीको अध्यक्षता तथा प्रदेश १ का अध्यक्ष यादवप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा चन्द्रगढीको लेखनाथ चौकमा सम्पन्न कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले काम गरिसकेको समयको तलव नदिने, देशको नीति नियमबिरूद्ध बेतलवी विदाको नाममा शिक्षक कर्मचारी निस्काशन गर्ने काम ५ दिनभित्र नसच्चिए संस्थागत विद्यालय बन्द अभियानको नेतृत्व इस्टुले गर्ने चेतावनी दिएका छन् । युनियनका झापा अध्यक्ष होमराज खतिवडाले सामाजिक न्याय र मूल्यमान्यता बिर्सेर नीति नियममा आबद्ध नहुने विद्यालयबिरूद्ध राज्य कडा भएर प्रस्तुत हुनु पर्ने बताए । कार्यक्रममा इस्टु प्रदेश १ का सहसचिव राजु वरालले कम्पनी ऐनअनुसार सञ्चालनमा रहेका अधिकांस निजी विद्यालयले आफू मातहतमा रहेका शिक्षक कर्मचारीलाई बन्दाबन्दीको बहाना बनाएर तलब रोक्ने काम कानुनबिपरित भएको भन्दै श्रम अदालतको सामना गर्ने गरी तयार रहन चेतावनी दिएका छन् । यसैबीच संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुरले साउन १ गतेबाट सञ्चालन हुन लागेको कक्षा ९ र १० को नियमित पठनपाठन रोक्ने भद्रपुर प्याब्सनको निर्णय नगर सरकार, अभिभावक, शिक्षक कर्मचारी तथा विद्यार्थीको भावनामाथिको प्रहार भएको ठहर गरेको छ । झापामा संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारी गरी ७ हजार बढी छन् भने काम लगाउने अधिकांस विद्यालयका सञ्चालकले बन्दाबन्दीको बहाना बनाएर शैक्षिक वर्ष २०७६ कै दिनु पर्ने तलव रोकिदिएपछि कष्टपूर्ण जीवनयापन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्