दमक । पूर्वी तराईका आदिवासी धिमालहरुको सघन बसोबास रहेको झापाको दमकमा धिमाल सङग्रहालय निर्माण कार्य भईरहेको छ ।

पूर्वपश्चिम लोकमार्ग अन्तर्गत दमक ९ को चियादोकान चोकबाट तीन सय मिटर दक्षिण करिब साढे ५ कठ्ठा जमिनमा अवस्थित चरकपारा ग्रामथानमा धमाधम सङग्रहालय निर्माण भईरहेको हो ।
आफ्नो कला, संस्कृति संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले ६ वर्षदेखि सङग्रहालयमा आवश्यक पूर्वाधार निर्माण भईरहेको धिमाल जातिय विकास केन्द्र झापाका अध्यक्ष मणिराज धिमालले बताए । उनका अनुसार निर्माणको प्रारम्भ नागरिकस्तरसहित राज्यले नै महत्व दिएर बजेट छुट्याउन थालेपछि सङग्रहालय बन्ने अवस्थामा पुगेको छ ।
यो सङग्रहालय निर्माणका लागि आर्थिक बर्ष २०७६—०७७ मा एक नम्बर प्रदेश सरकारले रु ४० लाख बजेट विनियोजन गरेपछि अहिले धमाधम काम भइरहेको धिमाल समुदाय अगुवा समेत रहेका लोकबहादुर धिमाल बताउँछन् । उनकै अध्यक्षतामा सरोकारवालाहरुको सहभागिता रहने गरी एक उपभोक्ता समिति गठन गरेर सङग्रहालय निर्माणको योजनालाई अघि बढाइएको छ ।
दमक नगरपालिकाले धिमाल जातिलाई दमकको पहिलो नागरिक घोषणा गरेर यी समुदायलाई अझै महत्व दिदै आएको छ । सङग्रहालयमा धिमाल महिलाहरुले घर भान्सामा प्रयोग गर्ने नाङलो, ओख्लीदेखि पुरुषहरुले प्रयोगमा ल्याउने माछा मार्ने जाल, शिकार खेल्ने तिर, धनुष,कृषि कर्ममा प्रयोग गरिने कुटो कोदालो राखिएको छ । ग्रामथान परिसरभित्र धिमालहरुको मौलिकता झल्किने पेटानी लगायतका सांस्कृतिक भेषभूषासहित कैयौं संस्कृतिजन्य प्राचीन सामग्रीहरु राखिएको दमक ९ का वडाध्यक्ष रामबहादुर धिमालले बताए । उनले भने –‘आदिवासी धिमाल जातिसम्बन्धी अध्ययन गर्नका लागि यस सङग्रहालय उपयोगी बन्ने छ ’
यो ग्रामथानमा स्थानीय धिमालहरुले आफ्नो धार्मिक तथा साँस्कृतिक महत्व बोकेको जात्री पर्वका दिन विशेष महत्वका साथ पुजाआजा गर्ने र मेला बजार लगाउने चलन छ । त्यसो त झापा र मोरङका झण्डै एक सय ठाउँमा रहेका ग्रामथानहरुमा हरेक बर्षको १ बैशाखदेखि नै प्रकृतिको पूजाआजा गरी ग्राम देवतालाई खुशी पार्ने चलन छ । चरकपारामा रहेको यो ग्रामथानलाई भने २०६२ — ०६३ को राजनीतिक परिवर्तनपछि राज्यका निकायहरुको धेरथोर ध्यान जानुका साथै आफ्ना संस्कार, संस्कृतिको संरक्षणमा समेत सहयोग पुर्याउदै आएको वडाध्यक्ष धिमालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्