यो लकडाउनले मानिसलाई केही भएपनि सकारात्मक सोच्ने बनायो भन्ने लाग्छ मलाई । दुःख पीडा र महामारीमा मानिस हुँदा अलि सोचाई सकारात्मक नै हुन्छ जस्तो लाग्छ । सहयोगीभाव आउँछ । अरुको दुःखमा दुःखी बन्छौ । जीवन केही होइन जस्तो लाग्छ । व्यर्थ रिस डाहा झैंझगडा गर्छाै हामी जस्तो लाग्छ । हामीले सुखीले दुःखीलाई सहयोग गर्नु पर्छ, हुनेले नहुनेलाई सहयोग गर्नु पर्छ , आफ्नो लागि त छदैछ ,अरुका लागि पनि केही गर्नु पर्छ भन्ने सोच यो लकडाउनले मानिसको दिमागमा हालिदिएको छ । आज हाम्रो समाज हेर्दा , हाम्रो वरिपरिको घटनाहरु देख्दा मानिसले मानिसलाई नै धिक्कारी रहने अवस्था आउँछ । मानिसले मानिसबाट नै अवाक हुने अवस्था आउँछ । मानिसमा सकारात्मकभन्दा बढी नकारात्मक विचार बढेको हामी पाउन सक्छौँ । मानिस बाध्य भएर विभिन्न सामाजिक संजालमा सकारात्मक सोचको विकास गरौँ भन्ने अवस्था समेत आउन थालेको छ । सहयोगीभावको विकास गरौँ भन्ने अवस्था आएको छ । रिस आवेग होस् वा अन्य कुनै पनि सूचना सामग्री सामाजिक सन्जालमा छ्यापछ्याप्ती देख्न सकिन्छ । आखिर किन मानिस यति निराश बन्दैछ ?किन सकारात्मक सोचको विकास हुन सकेको छैन ?किन मानिस मानिसबाट निराश बन्दैछ ?नकारात्मक विचार मानिसमा बढी आएर होला हामी सकारात्मक सोच सकारात्मक विचार भनेर भन्न बाध्य भएका छौ । मानिसको जन्म जीवनमा एकपटक हुन्छ अनि जन्मपछि मृत्यु निश्चित छ । एक बारको जुनीमा बाँच्नु छ अनि किन मानिस यति निराश बन्ने अनि किन नकारात्मक सोचको विकास भएको होला ! एक जना सामाजिक अभियन्ता आफ्नो फेसवुक वालमा लेख्नु हुन्छ–‘मलाई नकारात्मक कुराहरु मन पर्दैन । हामी नेपालीहरुमा अलिबढी नकारात्मक कुराहरुको हावी भएको महसुस हुन्छ । यसको कारणहरुको अध्ययन गर्दा के लाग्छ भने बिहान उठेर पहिलो समाचार नै नकारात्मकताबाट नै शुरु हुन्छन् ,सुन्न र पढ्न पाईन्छ । मानिसमा ऊर्जा पैदा पर्ने सकारात्मक कुराहरुको संचार गर्ने खालका न्युजहरु सुन्नै पाईदैन । यो लगातार भएको दशकौं भईसक्यो । हरेक कुरा इम्पोसिवल लाग्न थाल्छन् । त्यही इम्पोसिवललाई आइ एम पोसिवल भनेर अगाडी बढ्ने ऊर्जा दिन सञ्चारमाध्यमहरु पनि असफल भएको महसुस हुन्छ । त्यसैले सकारात्मक कुराहरुलाई बढी प्रश्रय दिएर अगाडि बढे व्यक्तिको विकास , परिवारको विकास , समाजको विकास , र देशको विकास सम्भव छ । हामीले समाचारहरु पनि त्यस्तै खाले बनाएको खण्डमा मानिसहरुको मनमा भएको नकारात्मकतालाई सकारात्मक बनाउँदै लान सकिन्छ र त्यो राम्र्रो हुन्छ देशलाई सहयोग हुन्छ जस्तो लाग्छ । वि पोजेटिभ स्टे सेफ , धन्यवाद ।’उहाँले आफ्नो मनको भाव यसरी लेख्नु भएको छ ।आखिर मानिस नकारात्मक कुरा गर्न र सुन्न मन पराउँदैनन् तर किन बढी नकारात्मक कुरा हामीले हाम्रो समाजमा देख्छौ ,भोग्छौ र सुन्छौ । यसै समाजमा हामी सकारात्मक सोचमा हिडेका मानिस पनि देख्छौ सामाजिक अभियानमा समेत सकारात्मक सोचलाई मानिसको साथ सहयोग हुने गरेको छ । अभियानलाई सफल बनाएका छन् । भनिन्छ मर्निङ सोज द डे भनेझै दिनको शुरुवात विहानीले गर्दछ भनेझै हाम्रो दिन कसरी सुरुवात हुन्छ !हाम्रो परिवेस ,हाम्रो अवस्था, हाम्रो वातावरणले पनि हाम्रो सोचको विकास गर्दछ । साँच्चै नै हामीले विहान उठ्ने वित्तिकै समाचार सुन्छौ त्यहीबाट नकारात्मक समाचारले हाम्रो दिमागमा बास गर्दछ । टिभी हेर्याे नभएका समाचार सुन्न बाध्य हुन्छौ । राजनीतिक पार्टीका कुरा सुन्यो, त्यस्तै बन्छ हाम्रो दिमाग । स्कुलमा विद्यार्थीलाई बाबु तिम्रो होमवर्क देखाऊ भन्दा उसले त गरेको छैन भन्छ । अफिसमा तिमीले किन आज ड्रेस नलगाएको भनेर सोध्दा उसले पनि लगाएको छैन भन्ने जवाफ आउँछ । तर आफूले ड्रेस किन नलगाएको भनेर जवाफ आउँदैन । एउटा ऋणीलाई ऋण तिर्न आग्रह गर्यो पहिला उसको उठाउनु न भन्ने जवाफ आउँछ । मैले आफूले तिरिसके भन्ने जवाफ आउँदैन । यी जवाफहरु सुन्दा लाग्छ हामीले हाम्रो दिमागमा के रोपिरहेका छौ ! किन अरुको कमजोरी खोजी गरिरहेका छौ !किन अरुलाई नराम्रो देखाएर आफू राम्रो बन्न खोजी रहेका छौ । हामी आफू असल किन बन्न खोजी रहेका छैनौँ । के हामी आफू असल बन्ने कि अरुको गलतलाई देखाएर आफू कम गलत हो भन्ने सावित गर्ने हो ।जीवनलाई सफल बनाउन अरुको जीवनसंग तुलना गर्नु पर्छ । इख लिएरजीवनलाई अरुको जीवनभन्दा बढी राम्रो बनाउनु पर्छ तर डाहा र इश्र्या कदापि गर्नु हुन्न । जीवनमा प्रतिष्पर्धी हुनु पर्छ । प्रतिष्पर्धी भएन भने जीवनमा प्रगति हुन सक्दैन । मानिस यस्तो प्राणी हो जसको वास्तविक पहिचान उसको विचारबाट हुन्छ । मानिस जस्तो सोच्दछ , उ त्यस्तै बन्दछ । त्यसैले असल मानिस हुन हरेक व्यक्तिले सकारात्मक सोच राख्नु पर्दछ । भनिन्छ– ‘‘सकारात्मक सोच नै मानिसको जीवनको ऊर्जा हो । बन्दुकको नालमा भन्दा सकारात्मक सोचमा हजारौं गुणा बढी शक्ति हुन्छ । मानिसको सकारात्मक सोचले कति उपलब्धि हासिल गर्छ भन्ने कुरा केही सकारात्मक सोचकर्ताहरुको भनाइले पुष्टि गर्दछ । विष्टर्न चर्चिल भन्छन– ‘‘ निरासावादी व्यक्ति हरेक समस्या देख्छ , तर आसावादी व्यक्ति भने हरेक समस्यामा अवसर देख्छ ।’’चर्चिलको यो भनाइले समस्या र अवसर भन्ने कुरा पनि अरु केही नभएर मानिसको सोचाई मात्र हो भन्ने कुरा देखिन्छ । भनिन्छ नि, समस्या मान्छेलाई लडाउन होइन , बरु उठाउन आउँछ । त्यसैले समस्या आउँदा खुट्टा लुलो होईन दह्रो बनाउनुपर्छ । भागवत गीतामा भनिएको छ– ‘‘ तपाई जस्तो सोच्नुहुन्छ अन्त्यमा त्यस्तै हुनुहुन्छ ।’’ पूर्वजन्म र पुनरजन्ममा समेत विश्वास राख्ने गीतामा कृष्ण अर्जुनलाई भन्छन्– ‘‘ प्राण त्याग गर्ने बेलामा जे सोचिन्छ अर्को जन्ममा सोही भएर जन्मिइन्छ । त्यसैले सकारात्मक सोच । ’’ विश्वले नै महान् दार्शनिक ग्रन्थ मानेको गीता दर्शनलाई मान्ने हो भने मानिसले यो जन्ममा सोचेको कुराको प्रभाव अर्को जन्ममा समेत पर्ने देखिएको छ भने यो जन्ममा त नपर्ने कुरै भएन । सफलताको मूल सुत्र नै सकारात्मक सोच हो । त्यसैले सफलताको लागि सकारात्मक कुरा खोज्नु आवश्यक छ । जीवनका बाटाहरुमा समस्या देखे समस्या नै समस्याको पहाड भेटिन्छ । समाधान र सफलता देखे जताततै सफलता नै सफलता हात लाग्छ । हरेक व्यक्तिको सफलता अरुको हातमा छैन आफ्नै मन मस्तिष्कमा छ । डा. योगी विकासानन्द भन्छन्–‘‘ संसारलाई बदल्नु छ भने शुरुवात आफैबाट गर्नुपर्छ ।’’हामीमा अहिले सबै काम अरुले गरि दिनु पर्ने र आलोचना खेती चाहिँ आफूले गर्न पाउनुपर्ने दाबी बढ्दो छ । यो विल्कुल गलत हो । अरुले यो गरेन त्यो गरेन भनिरहँदा मैले चाहिँ के गरेँ त भन्ने ठाउँबाट प्रश्न सुरु गर्नुपर्छ । रत्तिभर ढिला नगर्नुस् , अरुको आलोचना गरेर समय बर्बाद गर्ने होइन , आफ्नो काम गरेर समय सदुपयोग गर्नुहोस् । सबैप्र्रति सकारात्मक धारणा बनाउनु पर्छ । जीवन र जगतलाई सुन्दर बनाउनु पर्छ ।विपत्ति महामारीले मानिसलाई सकारात्मक सोच्न बाध्य बनाई दिन्छ । धनी गरिव समान बनाई दिन्छ । धन सम्पत्ति पैसा केही होइन भन्ने बनाई दिन्छ । अनि मानिसको जीवन अमूल्य छ यसलाई हामीले माया गरौ भनेर हरेक क्षण सम्झाई दिन्छ । त्यसैले दिनको शुरुवात सकारात्मक सोचले गरौ सकारात्मक बनौं ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्