दमक, साउन २ । ठगीको आरोपमा झापा दमकका एक जना व्यापारी काठमाडौँमा पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले विभिन्न जिल्लाका व्यापारीहरुसँग करोडौं रुपैयाँ ठगी गर्ने दमक ६ घर भएका चन्दन जिन्दललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिन्दल एक बर्षदेखि ठगीपछि एकाएक वेपत्ता भएका थिए । दमकमा उनले व्यक्तिगतसंगै सहकारीको समेत ऋण निकालेर ठगी गरेको खुल्न आएको छ ।
जिन्दलले झापा, बारा, पर्सा र सर्लाहीका करिव २२ जना व्यापारीबाट झण्डै ८ करोड रुपैयाँ ठगी गरेको आरोपमा उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको जनाईएको छ ।
जिन्दलले दमकमा हार्डवेयर र घरजग्गाका कारोबार गर्ने बहानामा तीन जनासँग डेढ करोड रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । त्यस्तै अन्य जिल्लाबाट खाद्यान्न उधारो ल्याइ राजधानीमा सस्तो मूल्यमा बिक्री गरेर रकम लिएर सम्पर्कबिहीन भएको प्रहरीको दावी छ ।
प्रहरीका अनुसार जिन्दलले गत चैत महिनादेखि लकडाउन अवधिमा पनि विभिन्न स्थानमा ठगी गरेको पाईएको छ । पक्राउ परेका जिन्दललाई थप अनुसन्धानका लागि प्रहरीले बारा जिल्ला पठाउने तयारी गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्