शिवसताक्षी, साउन ३ । शिवसताक्षी नगरपालिकाले जग्गा दिने भएपछि मेची अभियानले कनकाई नदीको बाढीबाट बिस्थापित तारा शेर्माको परिवारलाई पक्की घर बनाईदिने भएको छ ।

झापाका अधिकाँस संचारमाध्यममा तारा शेर्माको घर बाढीले बगाएर परिवारै बिचल्ली भएको समाचार आएपछि शिवसताक्षी नगरले जग्गा दिने भएको हो । शिवसताक्षी नगरको वडा नम्बर ११ स्थित बच्चाबरमा जनता आवास कार्यक्रमका लागि प्राप्त जग्गामा तारा शेर्माको पनि घर निर्माण हुने नगर प्रमुख चन्द्रकुमार शेर्माले बताए । नगर प्रमुख शेर्माले भने, ‘मेची अभियानसंग सहकार्य गरेर कनकाई नदीको बाढीबाट बिस्थापित तारा शेर्मालाई पक्की घरमा भित्र्याउने योजना छ ।’
नगर प्रमुख शेर्माले पत्रकारको भूमिका सकारात्मक भए अप्ठेरो र बिचल्लीमा परेका मानिसको उद्धार र पुनरस्थापना सहजै हुने बताए । उनले भने, ‘सकारात्मक सोच भएका पत्रकारको कलमले एउटा अति बिपन्न परिवारले जीवनभर राहत पाउने भएको छ ।’
जनता आवास कार्यक्रमको जग्गामा १२ वटा घर निर्माण भईसकेका छन् । अब, तारा शेर्माका लागि शिवसताक्षी नगरपालिकाले जग्गा दिने र मेची अभियानले उक्त जग्गामा घर बनाउने पक्का भएपछि त्यहाँ १३ वटा घर हुनेछन् ।
निर्माण सम्पन्न घर करिव ५ धुरमा बनेका छन् । तारा शेर्माले पनि त्यति नै भूमि पाउने नगर प्रमुख शेर्माले बताए । उनलाई करिब ५ लाख बराबरको घर मेची अभियानले निर्माण गरिदिने अभियानका संयोजक विजय डालमियाले जानकारी दिए ।

तारा शेर्माका ३ जना छोराछोरी छन् । ७ वर्षीया छोरी समृद्धी, ६ वर्षीया दिप्रती र अढाई वर्षका छोरा सन्दिपको माध्यमिक तहसम्मको पढाइको पनि चाँजोपाँजो मिलेको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर २ का अध्यक्षसमेत रहेका नगरका सचेतक कुलवहादुर बस्नेतले उनीहरुको अभिभावकत्व लिने घोषणा गरेका छन् । उनीहरुलाई आवश्यक पर्ने शैक्षिक सामग्री र विद्यालय पोशाक पनि अध्यक्ष बस्नेतले उपलब्ध गराउने बताए । उनले भने, गरिबीकै कारण पढ्न पाउने अधिकार कसैको खोसिनु हुँदैन । म उनीहरुको अधिकार रक्षा गर्छु र माध्यमिक तहसम्मको अध्ययनमा लाग्ने सम्पूर्ण खर्च उपलव्ध गराउँछु ।’
पीडित परिवारको जिवीका चलाउन प्रधानमन्त्री रोजगार कार्यक्रमबाट उनलाई रोजगारी दिन सकिने नगर प्रमुख शेर्माले बताए । उनले भने , ‘आत्मनिर्भरका लागि नगरपालिकाले सिपमुलक तालिम दिएर उनलाई रोजगारी दिनेछ ।’ वडा अध्यक्ष बस्नेतले पीडितको पुनरस्थापना र रोजगार स्थानीय सरकारको जिम्मा भएको बताउँदै, ‘व्यावसायिकरुपमा पशुपंक्षी पालेर पनि शेर्माले आफ्नो परिवारको गुजारा चलाउनु हुनेछ ।’
मेची अभियानका संयोजकसहितको एक टोलीले तारा शेर्माका परिवारका लागि निर्माण हुने जग्गा क्षेत्रको समेत स्थलगत अवलोकन गरेको छ । जग्गा पायक पर्ने र आधारभूत आवश्यकतायुक्त क्षेत्र भएकाले यसै सातादेखि घर निर्माण हुने संयोजक डालमियाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्