झापा ,साउन ३ । पिसिआर ल्याब सञ्चालनका लागि जनस्तरमा जारी अभियानले झापामा स्थानीय सरकारको साथ पाउने भएको छ । झापाका १५ मध्ये नौवटा पालिकाले सहयोग गर्ने सामुहिक प्रतिबद्धता जनाएसँगै अभियानले स्थानीय सरकारको साथमा पाउने पक्का भएको हो ।

पिसिआर ल्याबको तयारी

ल्याब सञ्चालनका लागि आवश्यक पर्ने डेढ करोड रुपैयाँ जुटाउन एक महिना अघिदेखि सरकार–समुदाय–सहकारी अभियान जारी छ। साझेदारीमा सञ्चालन हुने ल्याबस्थल निर्माण कार्यको अवलोकनपछि पालिकाका प्रमुख, उपप्रमुखले सहयोगको प्रतिबद्धता जनाएको अभियानका संयोजक महेन्द्रकुमार गिरी जानकारी दिए ।
ल्याब सञ्चालनका लागि मेचीनगर , अर्जुनधारा , बिर्तामोड , कनकाई , शिवसताक्षी नगरपालिका तथा झापा, बाह्रदशी ,बुद्धशान्ति, हल्दीबारी गाउँपालिकाले व्यवस्थापनको जिम्मेवारी लिने प्रतिबद्धता जनाएका हुन् ।
मेचीनगरका प्रमुख विमल आचार्य, अर्जुनधाराका प्रमुख हरिकुमार राना,बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईं, शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपाल, कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईंले सहयोगको प्रतिबद्धता जनाएका छन् । त्यसैगरी झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल, बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशी, हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले सहयोग गर्ने प्रतिबद्धता जनाएको अभियानका सहसंयोजक बिनोद बस्नेतले जानकारी दिए । बाँकी ६ पालिकाले पनि आफूहरू सकारात्मक रहेको जनाउ दिएको बताइएको छ । नागरिक समाज, सरकार र सहकारीको साझेदारीमा सञ्चालनमा आउने ल्याबका लागि झापाका पालिकाहरुसँग सहयोगको आह्वान गरिएको थियो । पिसिआर ल्याब साउन पहिलो सातादेखि सञ्चालन गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरिने योजना छ । प्रदेश सरकारले मेची प्रादेशिक अस्पतालको मातहतमा रहने गरी कोटीहोममा पिसिआर ल्याब सञ्चालनको अनुमति दिएको छ ।अभियानका सल्लाहकार लोकराज ढकालले प्राविधिक पक्षबारे प्रष्ट्याएपछि पालिकाका प्रमुख तथा उपप्रमुखहरुले जतिसक्दो छिटो पिसिआर ल्याब स्थापना गरी परीक्षणको काम थाल्न अभियानकर्तालाई आग्रह गरेका छन् । अहिले ल्याब राख्ने स्थानमा प्राविधिक काम भइरहेको छ । जेनेरेटर ,थ्रीफेस लाइन जडान, मेसिन ढुवानी लगायतमा खर्च लाग्ने भएपछि डेढ करोड जुटाउनु पर्ने अवस्था आएको सहसंयोजक बस्नेतको भनाइ छ । यसअघि १ करोड २७ लाख लाग्ने लागत अनुमानका साथ रकम संकलन गर्न थालिएको थियो । ल्याब सञ्चालनका लागि हालसम्म १ करोड २० लाख रुपैयाँ संकलन भइसकेको छ । अन्तर्राष्ट्रिय झापाली समाजले कबोल गरेको २५ लाख रुपैयाँ जम्मा हुन बाँकी छ । अन्य संघसंस्था र व्यक्तिले कबोल गरेको रकम उठाउन ताकेता गरिरहेको सहसंयोजक बस्नेतले बताए ।
“ ल्याब स्थापनास्थलमा धमाधम काम भइरहेको छ ” सहसंयोजक बस्नेतले भने,“ प्रदेश सरकारले मेसिन केही दिनभित्रै झर्ने बताएको छ, रकम संकलन र निर्माणको काम द्रुत गतिमा भइरहेको छ । ” १८ वटा संघसंस्था आवद्ध अभियानमा व्यक्तिले पनि मन खोलेर सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्