झापा, साउन ३ । राज्यको नियमविपरित झापा अर्जुनधाराको गोयाङ खोलाबाट नदीजन्य वस्तुको उत्खनन जारी रहेको छ ।

संघीय र प्रदेश सरकारले असारदेखि भदौसम्म नदी उत्खनन रोक्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेपनि अर्जुनधारामा नदीजन्य वस्तुको उत्खनन् नरोकिएको हो । वर्षायाममा खोलाबाट ढुंगा, गिट्टी र बालुवाको उत्खनन जारी राख्दा नजिकैको बस्ती बाढीको जोखिममा परेको छ । अर्जुनधारा नगरपालिका २ स्थित गोयाङ खोलामा दैनिक रुपमा उत्खनन भइरहेपनि सम्बन्धित नगरपालिका बेखबर बनेको छ । त्यहाँबाट दैनिक रुपमा ५–७ वटा ट्याक्ट्ररले ढुंगा ओसार्ने गरेको एक स्थानीयले बताए । ठेकेदारले ठेक्कामा भन्दा पनि ब्यक्तिगत रुपमा ढुंगा ओसार्ने काम भइरहेको उनले बताए ।

वर्षायाममा यसरी लगातार उत्खनन गर्दा खोला पूर्वपट्टि रहेको रातेबस्ती बाढीको जोखिममा परेको हो । नगरपालिका र नगर प्रमुखलाई त्यसबारे जानकारी गराउँदा कुनै सुनुवाई नभएको अर्का स्थानीयले गुनासो गरे । उनका अनुसार वर्षायाममा ढुंगा कोतर्दा रातेबस्तीमा जोखिम बढेको छ । त्यसबारे अर्जनधारा नगरपालिकाका नगर प्रमुख हरि राणासँग बुझ्दा गोयाङ खोलामा भइरहेको उत्खननका बारे आफूलाई जानकारी नभएको बताए । उनले नगरपालिका कोभिड १९ को महामारी र बजेट, नीति तथा कार्यक्रममा ब्यस्त रहँदा त्यसको फाइदा उठाएको हुनसक्ने धारणा राखे । ’त्यसबारे तत्काल अनुगमन गर्छौ‘ उनले भने । जिल्ला समन्वय समितिले वर्षायाममा नदीजन्य वस्तुको उत्खनन भए–नभएको अनुगमन गर्ने गरेको छ । तर, यस वर्ष समिति अनुगमनमा गएको छैन । अनुगमन गर्ने जिम्मा आफूहरुको हो भन्दै जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले जानकारी आएको खण्डमा अनुगमन गर्ने बताए । उनले भोलि नै अनुगमन गरी त्यहाँ भइरहेको उत्खननलाई रोक्ने जानकारी दिए । स्थानीयले प्रहरीको समेत मिलेमतोमा त्यहाँ उत्खनन भइरहेको आशंका गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्