बिर्तामोड, साउन ३ । झापामा फुटबल प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा आउने भएको छ ।

झापा ११ फुटबल क्लबले प्रशिक्षण प्रतिष्ठान (एकाडमी) सञ्चालनमा ल्याउन लागेको अध्यक्ष जलकुमार गुरुङले जानकारी दिएका छन् । शनिबार बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर झापा ११ ले एकाडमी सञ्चालनमा ल्याउने जानकारी दिइएको हो । त्यसका लागि प्रक्रिया अघि बढाइएको छ । पहिला स्थान तय गरी त्यसपछि भौतिक पूर्वाधारको तयारी थालिने गुरुङले बताए । उनका अनुसार पाँच करोड रुपैयाँको लगानीमा एकाडमी सञ्चालनमा आउनेछ । प्रशिक्षक, खेलाडी तथा प्राविधिकसँगको परामर्शपछि एकाडमी सञ्चालनको तयारी सुरु गरिएको हो । डोमालाल राजवंशी रंगशालाकै नजिक एकाडमी संचालन गर्ने सोच बनाएको बताउँदै उनले एकाडमीका लागि चारवटा खेल मैदान , भवन , कार्यालयजस्ता पूर्वाधार आबश्यक हुने जानकारी दिए । क्लबलाई आगामी दिनमा अझ मजबुद बनाउन तथा खेलाडी उत्पादनको उद्देश्य राखेर एकाडमी सञ्चालन गर्न लागिएको गुरुङकोे भनाइ छ । एकाडमीबिना खेलाडी उत्पादन गर्न सम्भव नभएकाले झापा ११ ले एकाडमी सञ्चालन गर्न लागेको हो । त्यसका लागि प्रशिक्षकसँग पनि सल्लाह गरिएको छ । लिग विजेता मच्छिन्द्र क्लबका मुख्य प्रशिक्षक प्रवेश कटवाल र बाँसबारी क्लबका मुख्य प्रशिक्षक युगलकिशोर राई एकाडमीमा आवद्ध हुने गुरुङले संकेत गरेका छन् । झापाका उनीहरु दुवै यसअघि झापा ११ का प्रशिक्षक थिए । झापा ११ का पूर्वखेलाडी उनीहरु एएफसी ए लाइसेन्स प्राप्त प्रशिक्षक हुन् ।
प्रशिक्षक कटवालले एकाडमी भएपछि खेलाडीमा सीपको विकास हुने र अझ निखारिएर जाने बताए । त्यस्तै, क्लब पनि मजबुद हुने र क्लबका लागि खेलाडी संकलन गर्न नपर्ने उनको धारणा छ । प्रशिक्षक राईले एकाडमी भएपछि क्लब पृथक र व्यावसायिक हुने बताए । उनले लामो उद्देश्य राखेर परिवर्तनका लागि एकाडमीको योजना बनेको सुनाए । बिर्तामोड नगरपालिका वडा नं ३ का वडाध्यक्ष भोजराज सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको संचालन झापा ११ का सचिव चेतामणि खनालले गरेका थिए ।यसैबीच जीर्ण अबस्थामा पुगेको डोमालाल राजवंशी रंगशालामा सरसफाइ थालिएको छ । केही महिनादेखि कुनै गतिविधि नभएको र कसैले वास्ता नगरेका कारण जीर्ण भएको रंगशालाको सरसफाइ शुरु गरिएको गुरुङले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्