गौरीगञ्ज, साउन ४ । गएराति गौरीगञ्ज ५ स्थित नेपाल– भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय तस्करहरुबीच झडप भएको छ ।

१५२ नम्बरको पिलरपूर्व मल्हाटोली नजिकै झडप हुँदा स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ४ राउण्ड हवाइ फायर गरेको सशस्त्र प्रहरी बल खजुरगाछीले जनाएको छ । सामान वारीपारी गर्न पाउनु पर्ने भन्दै राति करिब ५० जनाको समुहमा आएको भारतीयहरुको समुहले सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको कन्ट्रोल टोलीमाथि हातपात गरेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाइएको सशस्त्र प्रहरी बल खजुरगाछीले जनाएको छ । झडपका क्रममा सशस्त्रका दुई जवान सामान्य घाइते भएको र भारतीयतर्फ के कति क्षति भयो भनेर यकिन नभएको सशस्त्र प्रहरीले जनाएको छ । स्थानीयले ठूलो सँख्यामा भारतीयहरु घाइते भएको आशंका गरेका छन् । हवाइ फायरपछि तितरबितर भएका भारतीयहरु भारततर्फ भागेको र अहिले भारतीय सीमा सुरक्षा बलसँग घटनाबारे समन्वय भइरहेको सशस्त्र प्रहरी बल खजुरगाछीका प्रहरी निरीक्षक साइमन श्रेष्ठले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्