गौरीगञ्ज, साउन ४ । गौरीगञ्ज गाउँपालिका वडा नं १ का ५९ परिवारलाई छानाका लागि आबश्यक कर्कटपाता र खर्च उपलब्ध गराइएको छ ।

खर्चको अभावमा कर्कटपाताको छानो लगाउन नसकेका विपन्न परिवारलाई सो सहयोग प्रदान गरिएको हो । गाउँपालिकाको बजेटमा प्रतिपरिवार ३ बन्डेल कर्कटपाता र कर्कटपाता लगाउन १२ हजार ५ सय रुपैयाँका दरले खर्च उपलब्ध गराइएको वडाध्यक्ष कार्तिकलाल राजवंशीले बताए । उनले काम सम्पन्न भइसकेपछि कामको मूल्यांकन हेरेर प्रतिपरिवार ५० हजारसम्म खर्च गर्ने कार्यक्रम रहेको जानकारी दिए । विपन्न परिवारको फुसको छानो हटाएर कर्कटपाताको छाना लगाइदिने अभियानअन्तर्गत गौरीगञ्ज गाउँपालिकाले वडा नं १ का लागि साढे २९ लाख रुपैयाँ बजेट छुट्याएको थियो । सो बजेटबाट विपन्न परिवारको घरमा कर्कटपाताको छाना लगाइदिने काम शुरु गरिएको वडाध्यक्ष राजवंशीले बताए । कार्यक्रममा वडाध्यक्ष राजवंशी, कार्यपालिका सदस्य भीमप्रसाद राजवंशी, वडा सदस्यहरु राजभक्त सुनुवार, जानुका गौतम, टंकप्रसाद श्रेष्ठ, सुनिता पासवान लगायतले सहयोग हस्तान्तरण गरेका थिए । त्यस किसिमको सहयोग वितरण कार्यक्रम वडा नं २ मा पनि संचालन गरिएको छ । वडा नं १ मा कूल जनसंख्या ७,३६७ र घरधुरी १६५४ रहेको छ । त्यसमध्ये ५२४ परिवार विपन्न रहेको नेपाल रेडक्रस सोसाइटीको सर्वेक्षणले देखाएको थियो । त्यस तथ्यांकमा विपन्नको सँख्या थपिएको वडाध्यक्ष राजवंशीको भनाइ छ । आदिवासी राजवंशी जातिको बाहुल्यता रहेको यस वडामा अधिकांश बासिन्दा कृषि पेशामा आबद्ध छन् । यसअघि सोही वडामा विपन्न परिवारका लागि तराई मधेस कार्यक्रमअन्तर्गत २२ र जनता आवासअन्तर्गत ६ वटा घर निर्माण गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्