गौरीगञ्ज, साउन ४ । शनिबार राति गौरीगञ्ज ५ स्थित नेपाल– भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक भारतीय नागरिक गंभीर घाइते भएका छन् ।

त्यहाँ भारतीय नागरिक र सशस्त्र प्रहरीबीच झडप भएको थियो । १५२ नम्बरको पिलरपूर्व मल्हाटोली नजिकै झडप हुँदा स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ४ राउण्ड हवाइ फायर गरेको सशस्त्र प्रहरी बल खजुरगाछीले जनाएको छ । गोली लागेर २५ वर्षिय भारतीय युवक जितेन्द्रकुमार सिंह घाइते भएका हुन् । उनलाई प्राथमिक स्वास्थ्य केन्द्र टेढागाछमा प्राथमिक उपचारपछि पूर्णिया रेफर गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । काँधमा गोली लागेका उनको अबस्था गंभीर रहेको जनाइएको छ ।
सामान वारीपारी गर्न पाउनु पर्ने भन्दै राति करिब ५० जनाको समुहमा आएको भारतीयहरुको समुहले सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको कन्ट्रोल टोलीमाथि हातपात गरेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाइएको सशस्त्र प्रहरी बल खजुरगाछीले जनाएको छ । झडपका क्रममा सशस्त्रका दुई जवान सामान्य घाइते भएका छन् । सशस्त्र प्रहरीले तीन भारतीयमाथि गोली हानेको दावी गरिएको छ ।
भारतीयहरुले घाइते युवा जितेन्द्रकुमार र उनका दुई साथी अंकितकुमार सिंह र गुलशनकुमार सिंह शनिवार राति आफ्नो चौपाया खोज्दै नेपाल —भारत सीमा स्थित माफी टोलानजिक समीप गाउँबाट खेततिर जादै गर्दा नेपाल प्रहरीले अचानक फायरिङ गरेको दावी गरेका छन् । तर, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक रेशमकुमार थक्सूले पहिला एकजना साइकलमा आएको र उनलाई नेपालतर्फ आउन रोक्न खोज्दा भाला , लठ्ठीजस्ता हतियार लिएर ४०—५० जना भारतीयहरु जाइलाग्न खोजेपछि प्रहरीले हवाइ फायर गरेको बताएका छन् । उनले सुनियोजित तवरले आक्रमण गरेको हुनसक्ने आशंका गरेका छन् । सो घटनालाई लिएर नेपाल र भारतका प्रहरी प्रमुखहरूबीच छलफल भएको छ । झापाका सशस्त्र प्रहरी प्रमुख रेशमकुमार थक्सु र भारत किशनगंज जिल्लाका प्रहरी प्रमुख ललित कुमारबीच आ– आफ्नो देशका नागरिकहरूलाई लकडाउन अवधिभरि सीमा नाकामा वारपार गर्न नदिने, लकडाउनको पूर्ण पालना गराउने, सीमावर्ती क्षेत्रमा प्रहरीको गस्ती कडाई गर्ने र सीमा क्षेत्रका नागरिकहरूलाई सचेतना कार्यक्रम गराउने सहमति भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्