अर्जुनधारा , साउन ५ । आज साउनको पहिलो सोमबार । बन्दका बावजुद केही दर्शनार्थीहरु पूजाआजाका लागि अर्जुनधारा जलेश्वर धाममा आएका छन् ।

फाइल फोटो

सरकारले नै मन्दिर, विद्यालयलगायत धेरै भीडभाड हुने ठाउँ नखोल्ने निर्णय जारी राखेकोले पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा धाममा भक्तजनका लागि खुल्ला नगर्ने निर्णय गरिएको हो । तर, आज साउनको पहिलो सोमबार भएकाले दर्शनका लागि छेउछाउका भक्तालुहरु आएको जनाइएको छ । धाम समितिले मन्दिरको मूल गेट बन्द गर्ने गरेको छ । विहान नित्य पूजाका बेलामा मात्र मूल गेट खुल्ला राख्ने गरिन्छ । त्यही बेला स्थानीय भक्तालुहरु दर्शनका लागि आएका हुन् । नित्य पूजाका बेला भक्तालुहरु आएको हुनसक्ने धाम समितिका अध्यक्ष नवीन गट्टानीले बताए । सरकारले मन्दिर नखोल्ने निर्णय जारी राखेकोले आफू अर्जुनधारा मन्दिर नगएको उनले बताए । कोरोना भाइरसको महामारीका कारण जारी लकडाउनले गर्दा देशभरिका मठमन्दिरहरु बन्द रहेका छन् । राजधानीको पशुपतिनाथको मन्दिर पनि बन्द नै रहेको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालका अनुसार सरकारले मन्दिर खोल्ने निर्णय नगरेसम्म भक्तजनका लागि पूजाआजा र दर्शनका लागि मन्दिर खुल्दैन। साउने सोमबार शिवको आरधना गर्दै हिन्दु नारीहरू व्रत बस्छन् । व्रत बसेकाहरू सोमबार शिवालय मन्दिरमा पूजा गर्न जाने चलन छ। अघिल्ला वर्षहरूमा साउने सोमबार अर्जुनधारा मन्दिरमा भीडभाड लाग्ने गथ्र्याे।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्