झापा , साउन ५ । लगातार वर्षाका कारण कनकाई नदीमा आएको बाढी बाँध फुटाएर मानव बस्तीमा प्रवेश गरेको छ ।

झापा गाउँपालिका वडा नं २ मा कनकाई नदीको बाढीले जनताको तटबन्ध भत्काएर मानव वस्तीमा प्रवेश गरेको हो । बाढीले करिव ३ सय मिटर बाँध भत्काएको हो । बाढीको भेल सरकबारी बस्तीको नजिक पुगिसकेको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले बताए । ‘कनकाईको भंगालो सरकबारी बस्ती नजिक पुगिसक्यो’ अध्यक्ष शाहले भने,‘ राति वर्षा भयो भने भेल गाउँभित्र पस्छ ।’ सरकबारी वस्तीमा करिव ६० परिवार रहेका छन् । बाढी पस्नेबित्तिकै उनीहरुलाई उद्धार गर्नेगरी तयारीमा बसेको शाहले बताए । बस्तीमा पानी पसे उनीहरुलाई स्थानीय लक्ष्मी प्रावि र जुरो प्राविमा ल्याएर राख्ने तयारी गरिएको छ । उद्धारको लागि प्रहरी पनि तैनाथ राखिएको अध्यक्ष शाहले जानकारी दिए । त्यस्तै नेपाल रेडक्रस सोसाइटी झापा शाखाले पनि एक टोली त्यसतर्फ पठाएको छ । कनकाई नदीले बाँध फुटाएको खबर पाएपछि रेडक्रसको टोली त्यसतर्फ पठाइएको झापा शाखाका सभापति लोकराज ढकालले बताएका छन् । बाढीले करिव ४ सय विगाह धान खेत डुबाएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्