झापा , साउन ५ । लगातार वर्षाका कारण कनकाई नदीमा आएको बाढी बाँध फुटाएर मानव बस्तीमा प्रवेश गरेपछि झापा गाउँपालिकाका १ सय ३ परिवार विस्थापित भएका छन् ।

बाढीबाट वडा नं १ मिलनबस्तीका ८३ र वडा नं २ सडकबारीका २० परिवार विस्थापित भएका हुन् । बाढीले विस्थापित बन्नेहरुको तथ्यांक भर्खरै निकालिएको उद्धार र राहतमा खटिएका गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले बताए । उनले विस्थापितहरुलाई स्थानीय सितुमारी प्रावि र लक्ष्मी प्राविमा राखिएको छ । कनकाईको भेल घरघरमा पसेपछि दुवै वस्तीका मानिसहरुलाई मालसामान र चौपायासहित विद्यालयमा ल्याएर राखिएको उनले बताए । सशस्त्र प्रहरी , जनपद प्रहरी, रेडक्रसकर्मी, स्थानीय,जनप्रतिनिधिलगायतले उद्धारमा सहयोग गरेका थिए । उद्धार गरी विद्यालयमा ल्याइएका विस्थापितहरुलाई गाउँपालिकाका तर्फबाट खानाको व्यवस्था गरिएको अध्यक्ष शाहले जानकारी दिए ।उनका अनुसार घर फर्काउने व्यवस्था नभएसम्म राहतको व्यवस्था गाउँपालिकाले मिलाउने छ । बाढीले हजार विगाहभन्दा बढी भर्खरै रोपेको धान बालीमा क्षति पुगेको छ । त्यसैगरी सालमारा , लसुनगञ्जलगायतका बस्ती जोखिममा परेको छ । ती बस्तीका बासिन्दालाई सतर्क रहन गाउँपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्