भद्रपुर,साउन ६ । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बीपी) को ३८ औं स्मृति दिवसको अवसर पारेर चन्द्रगढीमा विविध कार्यक्रम सम्पन्न गरिएको छ ।

बीपी स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस भद्रपुर नगर समितिको आयोजनामा भद्रपुर १० स्थित बीपी चौकमा विचार गोष्ठी तथा माल्यार्पण सम्पन्न गरिएको हो ।
कार्यक्रममा सहभागी बक्ताहरूले बीपीको विचार अनुसरण गर्न नसकिएकै कारण देशमा कम्युनिस्टले मनपरी शैलीमा राज्य सञ्चालन गर्दा संकट उत्पन्न भएको आरोप लगाए । उनीहरूले काँग्रेस नेतृत्वले बीपीको समाजवादी चिन्तन भुल्दै गएकोप्रति चिन्ता समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस झापाका पूर्व सभापति सुधिरकुमार शिवाकोटी, नेपाल महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराई लगायतले मन्तव्य राख्दै अधिनायकवाद उन्मुख सरकारको कार्यशैलीले नागरिकले दुःख पाएको आरोप लगाउँदै काँग्रेसले देश र जनताका लागि सशक्त आवाज उठाउनु पर्ने दिन आइसकेको बताएका छन् ।
भद्रपुर नगर सभापति मोहन महर्जनको अध्यक्षता तथा नेपाली काँग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानका सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य भारतेन्दुकुमार मल्लिक, जिल्ला सभापति उद्धव थापा, प्रदेश संसद ओमप्रकाश सरावगीलगायत काँग्रेसमा आस्था राख्ने अगुवा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
बीपी कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुईतिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । उनले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिएका थिए ।
तर, दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद् अपदस्त गरेपछि उनले लामो समय निर्वासन र जेलमा बिताउनुपरेको थियो । पछि उनी विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रवादी भावना लिएर राष्ट्रिय मेलमिलापको नीतिसहित भारतको निर्वासन जीवन त्यागी स्वदेश फर्किका थिए ।
उनले प्रवर्तन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ । कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । नेपालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाले नेपाली राजनीति र समाजलाई दुरगामी महत्वको दर्शन प्रतिपादन गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्