झापा, साउन ७ । झापामा एक वर्षमा ९ वटा वन्यजन्तु मृत फेला परेका छन् ।

शिकारीको आक्रमणमा परेर, आफू—आफूबीचमा झगडा गरेर उनीहरु मारिएका हुन् । मृत फेला पर्नेमा ४ वटा चित्तल, एउटा हात्ती, २ वटा अजिंगर र २ वटा गौरीगाई रहेका छन् । कतिपय जंगली जनावरलाई शिकारीले मारेको र कतिपय जनावर प्रजननका बेला आफू—आफूबीच झगडा गरेर मारिएको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए । उनका अनुसार बाहुन्डाँगीमा मानिसहरुले लखेट्दा एउटा गौरीगाई खाल्डोमा परेर मरेको र अर्को राँगासँग जुधेर मारिएको थियो । ती वन्यजन्तुलाई डिभिजन वन कार्यालयले दाहसंस्कार गरेको थियो । त्यस्तै एक वर्षको अवधिमा २२ वटा जीवजन्तुलाई उद्धार गरिएको छ । अजिंगर ९, गोमन सर्प ६, सालक २, चित्तल २, लाटकोसेरो २ र एउटा कछुवालाई उद्धार गरी उनीहरुको प्राकृतिक बासस्थानमा लगेर छाडिएको डिभिजन प्रमुख घिमिरेले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्