मनिषा चम्लागाईँ,
झापा । झापा गाउँपालिका –१ लसुनगञ्जका लोचन यादवले १५ दिनअघि मात्र ८ विगाह जमिनमा धान रोपेका थिए । यस वर्ष समयमा नै मनसुन शुरु भएकाले रोपिएको धान फस्टाएको थियो । तर, अविरल वर्षाका कारण कनकाई नदीमा आएको बाढीले जनताको तटबन्ध भत्काएर बाढी खेतमा पस्दा यादवले लगाएको धान पानीले डुवाएको छ ।

गत वर्ष सोही जमिनमा प्रतिविगाह ८० मनसम्म धान उत्पादन गरेका यादव यस वर्ष पनि उत्पादन राम्रो हुनेमा विश्वस्त थिए । “यस वर्ष बढी धान उत्पादन हुने थियो” यादव भने, “विवि ११ र गुणराज जातको धान लगाएको थिएँ, सबै बाढीले सखाप बनायो ।” धान रोप्दा १ लाख बढी खर्च भएको उनी सुनाउँछन् । “खेतमा मान्छे डुबाउने पानी छ, धानखेत जलमग्न छ, पानी सुक्ने बेलासम्म लेदोले धान कुहिन्छ” यादव भन्छन् । स्थानीय सुरेश यादव पनि १० कठ्ठा क्षेत्रफलमा लगाइएको धानबालीमा नदी पस्दा चिन्तामा छन् । वर्षभरि खान पुग्ने उत्पादन दिने खेत खोलामा परिणत भएको उनको भनाइ छ ।
जनताको तटबन्ध भत्काएर नदी खेतमा पस्दा झापा गाउँपालिकामा १ हजार विगाहमा लगाइएको धान नष्ट भएको झापा गाउँपालिकाका अध्यक्ष जयनारयण साहले बताए । “कनकाई नदी खेतमा पस्दा हजारौँ विगाह धान बालीमा क्षति पुर्याएको छ” साहले भने, “नदीले झापा गाउँपालिकाको १ र २ नम्बर वडामा लगाएको धानबालीमा क्षति पुर्याएको हो ।”
कनकाई नदीकै बाढी खेतमा पस्दा झापाको शिवसताक्षी नगरपालिका –६ शिवगञ्जमा २५ विगाह बढी धान नष्ट भएको शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले बताए । “खेतमा पानी मात्र पसेको छ वा पानीसँगै बालुवा पनि छ, अहिले केही भन्नसक्ने अवस्था छैन” मेयर शेर्माले भने, “लेदोसहितको बाढी पसेर जलमग्न भएकाले धानबाली पूर्णरुपमा क्षति हुने अवस्था छ ।” नगरपालिकाले क्षतिको विवरण संकलन गर्ने नगरप्रमुख शेर्मा बताउँछन् । गएराति झापाकै बिरिङ खोलामा आएको बाढीले बाह्रदशी गाउँपालिका –७ तुलसीबारीमा २५ विगाह बढी धान डुवानमा परेको गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए ।
लगातारको बाढीका कारण झापामा धानबालीमा ठूलो क्षति पुगेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । “कुन –कुन स्थानीय तहमा कति धानमा क्षति पुगेको छ भनेर तथ्याकं संकलनका लागि कृषि ज्ञान केन्द्र र स्थानीय पालिकालाई निर्देशन दिएका छौँ” सहायक प्रजिअ पाण्डेले भने, “तथ्यांक संकलन भएपछि राहत र बीउविजन उपलब्ध गराउने विषयमा छलफल हुने छ ।” सरकारले धानबालीमा पुगेको क्षतिलाई आवश्यक राहत प्याकेजको घोषणा पनि गरेको छैन । “तथ्यांक संकलन भएपछि यस विषयमा नीति निर्माण हुने छ” पाण्डेले भने, “अहिले स्थानीय पालिकासमेत रहेकाले स्थानीय पालिकाले पनि राहत उपलब्ध गराउने छ ।” कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले क्षतिको तथ्यांक संकलन शुरु गर्ने बताए । झापाका नदी र खोलामा आएको बाढीका कारण बुधबार बेलुकासम्म ८ जनाले ज्यान गुमाइसकेका छन् भने १ सय ७५ घर परिवार विस्थापित भएको नेपाल रेडक्रस सोसाइटी झापाका मन्त्री चन्द्र चँुडालले बताए । विस्थापित भएका १० परिवारलाई पुनःस्र्थापना गर्नु परेको मन्त्री चुँडालले बताए । झापा पहिरोमा परी १ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्