बिर्तामोड, साउन ८ । तयारीको अन्तिम अबस्थामा पुगेर संघीय सरकारले अनुमति दिन नमानेपछि झापाको कनकाई नगरपालिकाको कोटीहोममा संचालन हुन लागेको पिसिआर ल्याब अन्यौलमा परेको छ ।

तयारी अबस्थाको ल्याब

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आतपकालिन तथा विपद व्यवस्थापन इकाईको स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रले कोटीहोममा बन्ने पिसिआर ल्यावलाई अनुमति दिन नसकिने बुधबार निर्णय गरेको छ । गत असार १० गते मेची अस्पतालमा पिसिआर ल्याव स्थापना गर्ने संघीय सरकारको निर्णय अनुसार उक्त अस्पतालमा मात्र ल्याव सञ्चालन गर्न संघीय मन्त्रालयले स्पष्ट पारेको छ । केन्द्रका प्रमुख डा. समिरकुमार अधिकारीले मेची अस्पतालमा मात्र संचालन हुने गरी अनुमति दिन सकिने उल्लेख गर्दै त्यसबारे मेची अस्पताललाई लेखी पठाउन पत्र पठाएका छन् । पत्रमा कोटीहोमको ल्याब सहकारी संस्थाहरुले संचालन गर्न लागेको उल्लेख छ । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले अनुमतिका लागि स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदा त्यसको नकारात्मक जवाफ आएको हो । करिव करिव सम्पूर्ण तयारी सकेर संचालनको अबस्थामा पुग्दा स्वास्थ्य मन्त्रालयले अनुमति जदिने निर्णय गरेको हो ।
ल्याब सर्दैन
जनस्तरबाट नेपालमै पहिलोपटक संचालन गर्न लागिएको पिसिआर ल्याब कनकाई नगरपालिकाको कोटीहोमबाट नसर्ने भएको छ ।
अन्तिम तयारी पूरा भएर संचालनको अबस्थामा पुगेको सो ल्याब त्यहीँ स्थानमा संचालन हुने भएको हो । साउन १५ गतेभित्र उद्घाटन गर्नेगरी ल्याबको तयारी सक्ने काममा एकका लागि एक अभियान जुटेको छ । ‘यहाँबाट कुनै हालतमा ल्याब सर्दै सर्दैन’ एकका लागि एक अभियानका संयोजक महेन्द्र गिरीले भने,‘ सरकारले संचालनको अनुमति नदिए तालाबन्दी गरेर राख्छौ ।’ उनले सरकारले जहिले अनुमति दिन्छ त्यही बेला संचालन गर्ने बताए । अभियानले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई , सामाजिक विकास मन्त्री जीवन घिमिरेलगायतलाई बोलाएर उद्घाटन गर्ने योजना बनाएको थियो ।‘ शनिबारसम्म सबै काम सकेर ल्याब टेष्ट थाल्ने योजना छ ’ गिरीले भने,‘ मेशिन जडानलगायतका काम सबै सम्पन्न हुन लागिसक्यो ।’
सरकारको त्यो निर्णय उचित नभएको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रप्रसाद पोखरेलले बताए । उनले कोटीहोमबाट ल्याब सार्न नसकिने बताउँदै बरु कोभिड अस्पताल मेची भद्रपुरको मातहतमा रहनेगरी संचालन र व्यवस्थापनको जिम्मेवारी दिन सकिने धारणा राखे ।
कोटिहोममा ल्याब सञ्चालन गर्न राजनीतिक दलको माग
एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा सञ्चालनमा आउन लागेको पिसिआर ल्याब सञ्चालन गर्न झापाका राजनीतिक दलले सरकारसँग माग गरेका छन् ।
सरकार, सहकारी र समुदायको सहकार्यमा स्थापना गर्न लागिएको पिसिआर ल्याब यही साउन १० गतेभित्र परीक्षणका लागि तयार हुँदैछ । ल्याब प्रदेश सरकारअन्तर्गत मेची अञ्चल अस्पतालको मातहतमा रहने गरी सञ्चालन अनुमतिको पर्खाइमा छ ।
अभियानले ल्याब तयार पारिसकेपछि सरकारलाई हस्तान्तरण गर्नेछ । सञ्चालनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिनेगरी हस्तान्तरण गर्न राजनीतिक दलका प्रमुखहरुको राय छ । अभियानले यसअघि नै ल्याब निर्माण सम्पन्न गरेर सरकारलाई जिम्मा लगाउने बताइसकेको छ ।
बिहीबार ल्याब रहेको भवनमा भएको छलफल कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, महासमिति सदस्य देउमान थेवे, जनता समाजवादी पार्टी झापाका अध्यक्षद्वय अनुतसिंह राजवंशी, दिपेन बाला राई, राप्रपा झापाका सचिव केशवराज ओझा, कनकाईका नगरप्रमुख राजेन्द्रप्रसाद पोखरेललगायतले संघीय र प्रदेश सरकारसँग ल्याब सञ्चालनको अनुमतिका लागि जोडदार माग गरेका हुन् ।
छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे, झापाका निमित्त प्रहरी प्रमुख राकेश थापा, बिर्तामोडका प्रहरी प्रमुख मुकुन्द रिजाललगायत अभियानका सदस्यहरुको उपस्थिति रहेको थियो ।
पिसिआर ल्याब साउन १० गतेभित्र तयार हुने र सञ्चालनका लागि सरकार सकारात्मक बन्नुपर्ने अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताएका छन् । ल्याब स्थापना हुने समर्पण भवनमा आवश्यक संरचना निर्माण, घेराबारा, वायरिङ, एसीलगायत उपकरण राख्ने टेबल जडान कार्य सकिएको उनले जानकारी दिए ।
ल्याबका लागि आवश्यक पिसिआर मेसिन, वायोसफ्टी क्याबिनेट, माइनस ८० डिग्रीका फ्रिज, सेन्ट्रिफुगल, आवश्यक किट तथा अन्य सामग्री समर्पण भवनमा आइसकेको सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । पिपिइलगायत थप किट प्रदेश सरकारले परीक्षण सुरु भएपछि व्यवस्थापन गर्ने बताइएको छ ।
ल्याब स्थापनाका लागि अन्तर्राष्ट्रिय झापाली समाज र झापा जिल्ला सहकारी संघको समन्वयमा २५–२५ लाख हजार रुपैयाँ प्रदान गरेका छन् भने विभिन्न वित्तीय संस्था तथा व्यक्तिगत र संस्थागत रुपमा सामाजिक संघसंस्थाले रकम सहयोग गरिरहेका छन् । ल्याब स्थापनाका लागि अभियानले १ करोड २० लाख रुपैयाँ संकलन गरिसकेको छ ।

मेचीमा तयारी पूरा
कोटिहोममा संचालन हुन लागेको ल्याबले अन्तिम अबस्थामा अनुमति नपाउँदा कोभिड हस्पिटल बन्न लागेको मेची भद्रपुरमा भने ल्याबको तयारी पूरा भएको छ । साउन १५ गतेदेखि संचालन गर्नेगरी तयारी पूरा गर्न लागिएको जिल्ला समन्वय समितिका संयोजक सोम पोर्तेलले बताए । उनले सरकारबाट असार १० गते अनुमति प्राप्त गरेपछि आफूहरुले बैधानिक रुपमा काम थालेको बताउँदै कुनै समस्या नरहेको जानकारी दिए । कोटिहोमको ल्याबका सम्बन्धमा पोर्तेलले त्यसबारे आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए । ‘सरकारबाट अनुमति लिएर सबैको सल्लाहमा गरेको भए समस्या हुने थिएन’ उनले भने,‘ प्रदेश सरकारले पनि स्वीकृति दिएको पाइदैन ।’ स्वास्थ्य मन्त्रालयले पठाएको पत्रका सम्बन्धमा उनले मेची अस्पतालमा पिसिआर ल्याबको सम्पूर्ण तयारी पूरा भइसकेको व्यहोरासहितको जवाफ बिहीबार मन्त्रालयलाई पठाइएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्