भद्रपुर,साउन ८ । सिमसार निर्माणका लागि खनिएको पोखरीमा डुबेर ३ जना बालकले ज्यान गुमाएका छन् ।

लाशसहित आक्रोशित स्थानीय

भद्रपुर २ स्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणस्थलमा पोखरी खन्ने जिम्मा लिएको निर्माण कम्पनीको लापरबाहीले अव्यवस्थित खाल्डोमा तीन जना बालकको डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भद्रपुर–२ डिगाउँ बस्ने अनिल तामाङका १० वर्षका छोरा अंकुश तामाङ, साबिक गरामनी गाविस घर भई हाल भद्रपुर–२ बस्ने कमला थामीका दुई जना छोराहरु अन्दाजी १४ र १२ वर्षका करण र अर्जुन थामी रहेको झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिएका छन् । अंकुश एसियन स्टार बोर्डिङ स्कुल र करण अर्जुन दाजुभाइ सगरमाथा माविमा अध्ययनरत थिए । प्रहरीका अनुसार बुधबार दिउँसो कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणस्थलमा खनिएको पोखरीमा माछा मार्न तथा पौडी खेल्न तीनै जना बालक सँगै गएका थिए ।
घरमा कसैलाई नभनी गएका तीन जना बालक साँझ अबेरसम्म घर नफर्किएपछि उनीहरूको आफन्तले खोजी गरेका थिए । खोजी गर्ने क्रममा बुधबार साँझ ७ बजे अंकुशको शव पोखरीमा डुबेको अवस्था फेला परेको थियो । पोखरीमा अंकुशको शव फेला परेपछि सोही आधारमा अन्य दुई बालकको पनि प्रहरी र स्थानीयले खोजी सुरु गरेका थिए ।
खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान थामी दाजुभाइको शव त्यही पोखरीबाट फेला पारेको डिएसपी थापाले जानकारी दिए । कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा तीन जना बालकको डुबेर मृत्यु भएसँगै पीडितका आफन्तजन र स्थानीयले आक्रोश पोखेका छन् । भद्रपुर नगरपालिका, कमलधाप पर्यटन क्षेत्र विकास समिति र निर्माण कम्पनीको लापरबाहीले तीन जना बालकको ज्यान गएको भन्दै उनीहरू आक्रोशित भएका हुन् । कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणका लागि भद्रपुर नगरपालिकाले ठेक्का लगाएको थियो । निर्माण कम्पनी आर.एन्ड.सी.नयाँ युग जेभीले ४ करोड ३८ लाख ३ हजार ५७९ रुपैयाँमा २०७८ साल असार २४ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । कमलधाप पर्यटन क्षेत्रमा निर्माणको कार्य गर्दा निर्माण कम्पनीले मापदण्ड नअपनाउँदा घटना भएको मृतक बालक अंकुशका काका आशिस तामाङले आक्रोश पोखे। ‘भतिजसहित अन्य दुई जना बालकको मृत्यु भद्रपुर नगरपालिका र निर्माण कम्पनीको लापरबाहीको कारण भएको हो,’ उनले भने, ‘निर्माण कम्पनीले कम्तीमा सुरक्षाको मापदण्ड किन अपनाएन, र बर्खाको बेला त्यहाँ कम्पनीले कर्मचारी राख्नु पर्दैन ?’
तीन जना बालकको मृत्युले वडावासी नै शोकमा डुबेको स्थानीय फागु सुब्बाले बताए । उनले भने, ‘निर्माण कम्पनीको लापरबाहीले नै गाउँमा यस्तो ठूलो घटना भयो, यसका लागि हामी कानुनी उपचारमा जान्छौँ ।’ सुब्बाका अनुसार ३ जना बालकमध्ये अंकुशको शव आफन्तले बुझेर पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल लगिएको छ भने थामी दाजुभाइको शव निर्माण ठेकेदारलाई कारवाही नगरेसम्म नबुझ्ने अडान राखेर आफन्तले लास उठाएका थिएनन् ।
पुरै गाउँ शोकमा
भद्रपुर २ स्थित धार्मिकस्थल कमलधापसित जोडिएको सिमसार क्षेत्रको विकास हुँदा स्थानीयस्तरमा उन्नति हुने आशा पालेका स्थानीयले सोच्दै नसोचेको शोक सहनु परेको छ ।
विकासका लागि निर्माण थालिएको पोखरीमा निर्माण ठेकेदारले सावधानी नअपनाउँदा दलदल बनेको पोखरीमा डुबेर ३ जना बालकले ज्यान गुमाएपछि स्थानीय शोकमा डुबेका हुन् । घरमा कोही नभएका बेला दिउँसो ३ बजेतिर घर नजिकै रहेको निर्माणाधीन पोखरीमा माछा मार्न बल्छी लिएर हिँडेका तीनै जना आफैं पोखरीको दलदलमा भासिएर सधैंका लागि विदा भए । एक मात्र छोरा भएका अनिल तामाङ र दुई मात्र छोराकी आमा कमला थामी सन्तानविहिन बन्नु परेको छ । उनीहरूले मात्र होइन, समग्र वडाबासीले पनि सोचेका थिएनन् कि त्यस पोखरीको दलदलले बालकहरू चँुडेर लानेछ भन्ने । तर, जिम्मेवार ठेकेदार र सवल नियामक नहुँदा हिउँदमा खनेर छोडेको खाल्डो वर्षातमा भरिँदा बगेर पसेको माटो दलदल बनेर भासिन पुग्दा कलिला बालकले ज्यान गुमाउनु परेको स्थानीय फागु सुब्बा बताउँछन् ।

लथालिङ्ग पारेर छाडिएको पोखरी

सोही कारण बिहिवार दिनभर भद्रपुर २ स्थित कमलधाप क्षेत्र तनावग्रस्त बनेको छ । पोखरी खन्ने जिम्मा लिएको निर्माण कम्पनीको लापरबाहीले अव्यवस्थित खाल्डो दलदलमा रूपान्तरण हुँदा तीन जना बालकको डुबेर मृत्यु भएको भन्दै स्थानीय आक्रोसित बन्दा कमलधाप क्षेत्र तनावग्रस्त बनेको हो । तीन जना बालकको मृत्यु भएसँगै गाउँ नै शोकमा डुबेको छ । कमलधाप पर्यटन क्षेत्रमा निर्माणको कार्य गर्दा निर्माण कम्पनीले मापदण्ड नअपनाएको, निर्माण कम्पनीको लापरबाही रहेको भन्दै स्थानीयले जिल्ला प्रहरीमा मुद्धा दर्ता गर्न गएका भए पनि प्रहरीले मुद्धा दर्ता गर्न नमानेपछि ३ जना बालकमध्ये अंकुश तामाङको शव आफन्तले बुझेर पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल लगिएको छ भने थामी दाजुभाइको शव निर्माण ठेकेदारलाई कारवाही नगरेसम्म नबुझ्ने अडान राखेर आफन्तले लास उठाएका छैनन् ।
यता भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ भने विकासका लागि गरिएको संरचना निर्माणस्थलमा अकल्पनीय घटना घटेकोमा दुःख लागेको बताउँछन् । प्रमुख श्रेष्ठले पीडित परिवारले राखेका माग सम्बोधन गरेर आजै मृतकको लास उठाउने जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्