बिर्तामोड, साउन ९। नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक भएसँगै झापाका सबै गाउँ–नगरका वडाहरुमा क्रियाशील सदस्यता नविकरण प्रारम्भ गरेको छ ।

नविकरण प्रारम्भ भएसँगै संशोधित विधानका प्रावधानबारे जानकारी गराउन नेपाली कांग्रेस झापा क्षेत्र नं–२ ले प्रशिक्षण सम्पन्न गरेको छ ।क्षेत्र नं–२ अन्तर्गत प्रदेश क्षेत्र, गाउँ–नगर र वडाका सभापतिहरु सहभागी कार्यक्रममा क्रियाशील सदस्यता नविकरण, नयाँ वितरणको प्रक्रिया, टोल, वार्ड, गाउँ–नगर, प्रदेश क्षेत्र, संघीय क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समिति गठनको प्रावधानकाबारे प्रशिक्षण दिइएको हो । कार्यक्रममा डि.एल.ए. झापाका पूर्व अध्यक्ष बसन्त नेपाल र नेपाली कांग्रेस झापा प्रचार–प्रसार विभाग संयोजक कृष्ण हुमागाईले प्रशिक्षण दिएका थिए ।
विधानमा रहेका ब्यवस्थाकाबारे सहभागीहरुले उठाएको जिज्ञाशामा नेपाली कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी र सरिता प्रसाई, नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा, पूर्व सांसद डिल्ली सिटौलालगायतले जवाफ दिएको क्षेत्रीय सहसभापति धर्म लक्सम्बाले जानकारी गराए । नेपाली कांग्रेस २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनालीको सभापतित्वमा सम्पन्न सो भेलाले १३ औं महाधिवेशनमा नविकरण छुट भएर अन्य पार्टीमा नगएकाहरुको क्रियाशील सदस्यता नविकरण गर्ने निर्णय गरिएको क्षेत्रीय सचिव किरण श्रेष्ठले जानकारी दिए । मुलुक संघीय संरचनामा गएपछि कांग्रेसले सोहीअनुरुप भातृ तथा संगठन विस्तारका लागि कांग्रेसको विधान संशोधन भएको छ ।
कोरोना भाइरसका कारण २०७६ फागुन १३ गते निर्धारित कार्यतालिका प्रभावित भएपछि गत असार २२ गते सम्पन्न कांग्रेस केन्द्रीय समितिको बैठकले नयाँ कार्यतालिका सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्