बिर्तामोड (प्रस) झापाको बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालबाट पश्चिम नेपालकी एक शिशुले सफल उपचार पाएकी छन् । कैलालीको लम्कीचुवा– २ की २० महिने हिमानी शाहीको देब्रे आँखाको पछाडिपट्टी रहेको ट्युमरको शल्यक्रिया गरिएको छ । यो ब्रेन ट्युमर भएको चिकित्सकले बताएका छन् ।
११ घण्टा बढी समय लगाएर शल्यक्रिया गरी ट्युमर निकालिएको अस्पतालका मेडिकल डाइरेक्टर वीरेन्द्र यादवले शुक्रबार अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिए । डा. यादवले शिशुको आँखा पछाडि करिब छ इञ्चजति ब्रेनको छेउमा रहेको ट्युमर बिएन्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालको चिकित्सकको टोलीले न्यूरो सर्जरी गरेको बताए ।


न्यूरो सर्जरीपछि २ महिनासम्म अस्पतालमै राखेर रेडियसन गरेर उपचार सम्भव भएको उनको भनाइ थियो । उनलाई शुक्रबार नै डिस्चार्ज गरिएको छ । उपचारमा संलग्न न्यूरो सर्जन डा. पंकज नेपालले शिशुको ट्युमर निकाल्ने काम चुनौतिपूर्ण सर्जरी भएको बताए । ‘शिशुको ट्युमर निकाल्ने सँगै, आँखाको नशा जोगाउने मुख्य चुनौति थियो’, उनले भने, ‘ट्युमरलाई घटाएर रेडियो थेरापी गर्नुपर्ने थियो ।’ ट्युमर निकाल्ने र रेडियसन गर्ने क्रममा दायाँपट्टिको आँखालाई जोगाइएको डा. यादवले बताए । बायाँ आँखाले काम गर्छ भन्न सकिने अवस्था नरहे पनि दायाँ आँखाले काम गरिरहेको उनले सुनाए । स्थानीय एफएमबाट पूर्वमा क्यान्सर हस्पिटल छ भनेर थाहा पाएकी हिमानीकी आमा रचना शाहीले यसअघि छोरीको उपचारमा काठमाडौँ धाए पनि सम्भव नभएको सुनाइन् । छोरीलाई यहाँ ल्याएर उपचार गराएपछि आँखा देख्न सक्ने बनाएको साथै छोरी नयाँजन्म पाएको बताइन् ।
यस प्रकारको शल्यक्रिया र उपचार सामान्यतया पहिलो नभएता पनि बच्चाको ब्रेन ट्युमरको सर्जरी डाक्टरहरुको लागि चुनौति हुने गरेको चिकित्सकको भनाइ छ । बिर्तामोडमा गत पुष महिनादेखि सञ्चालनमा ल्याइएको पूर्वाञ्चल क्यान्सर अस्पताल नेपालमै उच्च प्रविधिको मेसिनसहित स्थापित छ । चार महिना लामो लकडाउनका कारण भारत जाने बिरामी पनि यहीँ आउने गरेकोले थप बिरामीको सेवामा अस्पताल क्रियाशील रहेको जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्