झापा, साउन ९ । होल्डिङ सेन्टरको सुरक्षार्थ बसेका झापा काँकडभिट्टाका अठार जना सशस्त्र प्रहरीलाई एकैदिन कोरोना संक्रमण देखिएको छ ।

मंगलबार कोरोना संक्रमण देखिएका सशस्त्र प्रहरी वल काँकडभिट्टाका दुई जना सशस्त्र प्रहरी जवानको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा १८ जनामा आज कोरोना संक्रमण पुष्टि भएको हो । त्यतिबेला ४० जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो । आज संक्रमित हुनेमध्ये एकजना महिला प्रहरी रहेकी छन् । संक्रमितहरु सबै जवान भएको बताइएको छ । संक्रमित पुरुषहरुलाई मोरङको गोठगाउँ र महिला प्रहरीलाई विराटनगर पठाइएको छ । सीमा र होल्डिङ सेन्टरको सुरक्षामा सशस्त्र प्रहरीहरु खटिदै आएका छन् । कोरोना संक्रमितहरुको सम्पर्कका कारण उनीहरुमा संक्रमण फैलिएको हो । सशस्त्र प्रहरी वल काँकडभिट्टामा २ सयजति सशस्त्र प्रहरी रहेका छन् । पहिलो पटक दुई र त्यसपछि अठारजनामा संक्रमण देखिएपछि क्याम्पमा रहेका सबै जनाको कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गरिने सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सूले बताए । उनले तीन दिनपछि बाँकी सबैको कन्ट्याक्ट ट्रेसिङ गरिने जानकारी दिए । त्यसैगरी सीमा सुरक्षा र होल्डिङ सेन्टरमा सशस्त्रसँगै जनपद प्रहरी पनि खटिएका छन् । उनीहरुको पनि नमूना परीक्षण गर्न लागिएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । उनले संक्रमितहरुको सम्पर्कमा आउने सुरक्षाकर्मी सबैको परीक्षण आबश्यक भएको बताए । यसअघि मंगलबार पूर्वी नाका काँकडभिट्टामा रहेको हाल्डिङ सेन्टरमा कार्यरत सशस्त्र प्रहरीका दुईजना जवानलाई कोरोना पुष्टि भएको थियो ।
आज १८ जना सशस्त्र प्रहरीसँगै झापामा २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । अन्य संक्रमितहरु बाहूदशी गाउँपालिकाका ३ , झापा गमउँपालिकाका ३ र बिर्तामोड नगरपालिकाका एकजना रहेका छन् । बिर्तामोड नगरपालिका वडा नं ४ का पुरुष भारतबाट फर्केर मेची आँखा अस्पताल क्वारेन्टाइनमा बसेका थिए । त्यस्तै झापा गाउँपालिकाका संक्रमितहरु पनि भारतबाटै फर्केका हुन् । बाह्रदशीका संक्रमितहरु भने साउदी अरब र कतारबाट फर्केर क्वारेनटाइनमा बसेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले बताए ।आज २५ जना थपिएसँगै झापामा कोरोना संक्रमितको संख्या ३४५ पुगेको छ । त्यसमध्ये ३०० जना निको भएर डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्