भद्रपुर, साउन १० ।भद्रपुरस्थित मेची अस्पतालमा स्थापना गरिन लागेको कोरोना भाइरस संक्रमण परीक्षणका लागि निर्माण गरिएको प्रयोगशालाको झापाका प्रदेश सांसदहरूले अनुगमन गरेका छन् ।

उनीहरूले पीसीआर ल्याव सञ्चालनको अवस्थाका बारेमा शनिवार अनुगमन गरेका हुन् । प्रदेश सांसदहरुले शुक्रबार प्रदेश सरकारबाट बुझेर पीसीआर विधिबाट कोरोना भाइरस संक्रमण परीक्षण गर्ने मेसिन झापा ल्याएका थिए ।
मेची अस्पतालमा साउन दोस्रो हप्ताबाट पीसीआर प्रविधिबाट कोरोना परीक्षण सुरू हुने भएको छ । अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल र मेडिकल सुपरिटेण्डेन्ट पिताम्वर ठाकुरले सांसदहरूलाई अस्पतालले गरिरहेको तयारीबारे जानकारी गराएका थिए । सो अवसरमा सांसदहरु बसन्त बानियाँ, झलकसिंह दर्लामी, ओम सरावगी, एकराज कार्की, पूर्णसिंह राजवंशी, भद्रपुरका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठलगायतले अनुगमन गरेका थिए ।
‘६ जना ल्यावको जनशक्ति तयारी अवस्थामा छन्’, मेडिकल सुपरिटेण्डेन्ट ठाकुरले भने, ‘आइतबारदेखि कोशी अस्पतालमा जनशक्तिलाई हेर्न र आफू तयार हुन पठाउने व्यवस्था मिलाएका छौं ।’झापा प्रदेश १ मै सबैभन्दा धेरै संक्रमित फेला परेको जिल्ला हो । स्वीस सरकारले उपलब्ध गराएकामध्ये एउटा मेसिन झापा ल्याइएको प्रदेश सांसद बानियाँले जानकारी दिए । अस्पताललाई प्राप्त मेसिनबाट एक पटकमा ९० वटा स्वावको परीक्षण गर्न सकिने बताइएको छ । प्रतिघण्टा ९० जनाको स्वाव परीक्षण गर्ने उक्त मेसिनले समूहमा परीक्षण गर्ने हो भने एकैदिनमा झण्डै १० हजार स्वाबको परीक्षण गर्ने बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्